
काठमाडौँ, वैशाख ४ गते । लहान नगरपालिका–४ स्थित खुटी नदीको दक्षिणी भागमा रहेको खाली ठूलो मैदानमा ‘यज्ञभूमि क्रिकेट रंगशाला’ निर्माण कार्य सुरु भएको छ ।
लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरी, प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा, इन्जिनियर अनिक यादव र विनोद यादवले बिहीबार सामूहिक रूपमा भूमि पूजा गर्दै निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो ।
सञ्जय जेसी–तनिक्षा जेभी, काठमाडौँले बिना भ्याट चार करोड ९२ लाख ६५ हजार ६८२ रुपियाँमा २०८३ चैत २३ गतेसम्म सम्पन्न गर्ने गरी ठेक्का लिएको छ । उक्त योजनाको सम्झौता २०८२ चैत २३ गते भएको थियो ।
लहान नगरपालिकाका क्रिकेट खेलाडीहरूको लामो समयदेखिको माग पूरा गर्ने उद्देश्यले अथक प्रयासपछि रंगशाला निर्माण सुरु गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो ।
यसअघि २०८० चैत ३ गते नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितर महतोले संयुक्त रूपमा यज्ञभूमि क्रिकेट मैदानको शिलान्यास गरेका थिए । पुनः शिलान्यास गरिएको विषयमा सञ्चारकर्मीहरूको जिज्ञासामा नगरप्रमुख चौधरीले भन्नुभयो, “त्यतिबेला क्रिकेट पिच निर्माणका लागि शिलान्यास गरिएको थियो, अहिले भने रंगशाला निर्माणका लागि गरिएको हो।”
रंगशाला निर्माण सुरु भएसँगै लहानका क्रिकेट खेलाडीहरू उत्साहित भएका छन् । “लहान खेलप्रेमीहरूको नगरी हो, रंगशाला निर्माण भएपछि यहाँबाट उत्कृष्ट खेलाडी उत्पादन हुनेछन्,” स्थानीय खेलाडी मनोज सहनीले बताउनुभयो ।





