एस् ए टी भी ०७ वैशाख, काठमाडौँः चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १६० खर्ब चार अर्ब १५ करोड कारोबारमा आधारित तरलता प्रशोचन गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत २० खर्ब १३ अर्ब ६० करोड र स्थायी निक्षेप सुविधामार्फत १३९ खर्ब ९० अर्ब ५५ करोड गरी कुल १६० खर्ब चार अर्ब १५ करोड रुपियाँ कारोबारमा आधारित तरलता प्रशोचन गरिएको हो । यस्तै दुई अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत पटक पटक गरी खुद पाँच खर्ब ९७ अर्ब २४ करोड तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार वाणिज्य बैङ्कबाट अमेरिकी डलर तीन अर्ब २० करोड खुद खरिद गरी चार खर्ब ३३ अर्ब ७७ करोड तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर तीन अर्ब ७२ करोड खुद खरिद गरी चार खर्ब ९४ अर्ब ६२ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर दुई अर्ब ५४ करोड बिक्री गरी तीन खर्ब ३४५ अर्ब ४८ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुई अर्ब ४६ करोड बिक्री गरी तीन खर्ब २७ अर्ब चार करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।