नेभिगेसन मेनु

सुकेटार विमानस्थल अढाई महिनादेखि ठप्प
सम्पादक:南亚网络电视
समय:2025-03-03 12:31

suketar airport

एस् ए टी भी १९ फाल्गुन, काठमाडौँः ८७ वर्षीय कमला विष्ट यतिबेला जिल्ला अस्पतालमा छन् । फुङलिङ नगरपालिका-४ निवासी उनलाई थप उपचारका लागि परिवारले काठमाडौँ लैजाने चाहेका छन् । वान्ता (वाकवाकी) हुने भएकाले परिवारले गाडीमा लैजान कठिन छ । नाति सुरज ओझा झापाबाट सुविधा सम्पन्न एम्बुलेन्स मगाउने मनस्थितिमा छन् ।

तर यसअघि पनि गाडीमा यात्रा गर्दा धेरै नै वान्ता हुने र यात्रा गर्न कठिन हुने भएकाले परिवारका अरु सदस्य मानेका छैनन् । पीडा हेर्दै गाडीमा डोर्‍याउने कि ऐया.. ऐयाको आवाज सुन्ने भन्नेमा परिवार बिलखन्दमा छन् । यतिवेला जिल्लाको एक मात्र सुकेटार विमानस्थल बन्द छ । त्यसैले अरु विकल्प परिवारसँग छैन ।

फक्ताङलुङ गाउँपालिका-२ खेजेनिमका केन्द्रसिंह लिम्बूलाई उनका नाति श्रवण लिम्बूले जिल्ला अस्पतालबाट घर फर्काए । जिल्ला अस्पतालमा तीन दिन उपचार गराएपछि चिकित्सकले काठमाडौँ वा धरानको घोपा लैजान सल्लाह दिएका थिए । गाडीमा जान नचाहने र जहाज नभएका कारण बिरामी बाजेलाई घर फर्काउनु परेको उनले बताए ।

‘राम्रै भए जति बेला जहाज चल्छ त्यतिबेला लैजाने मनस्थितिले गाउँ ल्याएँ,’ उनले भने । नेपाल वायु सेवा निगमका ट्वीनेटर जहाज ग्राउण्डेड भएपछि मंसिर अन्तिम सातादेखि सुकेटार विमानस्थल ठप्प भएको हो । निगमका दुई वटा जहाज हुँदासम्म सातामा पाँच दिन काठमाडौँ–ताप्लेजुङ उडान हुँदै आएको थियो ।

एउटा ग्राउण्डेड भएर एउटामात्रै चल्न थालेपछि सातामा एक उडान हुन थालेको थियो । त्यो उडानमा अशक्त, बिरामी जरुरी परेकाले प्राथमिकत पाउँथे । तर उडानै ठप्प भएपछि विरामी र अशक्त बढी मारमा परेका हुन् । मंसिर २४ गतेपछि जिल्लामा उडान नभएको सहायक स्टेशन इन्चार्ज कुमार गुरुङ बताउँछन् । ‘जहाज बन्यो भनेर दिनमा दुई चार जना सोध्न आइरहनु हुन्छ,’ गुरुङले थपे, ‘केन्द्रमा सरहरूले अब चाँडै बनिएर आउँछ भन्नुहुन्छ हामीपनि सोध्नेलाई त्यही भनिरहेका छौं ।’

सुकेटारबाट जहाज चढ्न ताप्लेजुङबाहेक पाँचथरको याङवरक, हिलिहाङ र तेहृथुमको आठराई गाउँपालिकाका यात्रुपनि आउने गरेका थिए । अहिले ताप्लेजुङ सदरमुकामबाट जहाज चढ्न झापाको भद्रपुर वा मोरङको बिराटनगर पुग्नुपर्छ । यहाँ पुग्न सदरमुकामबाट कम्तिमा आठदेखि नौ घण्टा लाग्छ ।

कच्ची सडकमा खाल्डाखुल्डी भएकाले यात्रुलाई सहज छैन । अझ धेरै घुम्ती भएकाले वान्ता गर्नेको संख्या अधिक हुने गरेको छ । सुकेटार विमानस्थलमा नौ सय ५० मिटर कालोपत्रे धावन मार्ग छ । निजी कम्पनीका साना जहाजपनि बस्न सक्छन् । तर निजी कम्पनीले पनि उडानमा चासो देखाएका छैनन् ।

पूर्व पर्यटनमन्त्री योगेश भट्टराईको जिल्ला भएपनि चासो नराखेको गुनासो कार्यकर्ताको छ । निजी कम्पनीसँग समन्वय नगरेको गुनासो स्थानीय कल्पना गुरुङले गरिन् । भट्टराईको सचिवालयले भने समन्वयको काम भइरहेको दाबी गरेको छ । सचिवालयका प्रेम गुरागाईंले भने, ‘ताप्लेजुङ सरोकार केन्द्रसँगको समेत समन्वयमा मन्त्रीसँग डेलिगेसन जाने र कुरा गर्ने काम भएको छ, नतिजा राम्रै आउँला ।’

सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङ एनए को जहाज बनिहाल्ला भन्ने लागेर निजी कम्पनीसँग धेरै भलाकुसारी नगरेको बताउँछन् । ‘एनएको दुईवटा जहाज बने ताप्लेजुङले सातामा पाँच उडान पाउँछ,’ उनले भने, ‘त्यसले तत्कालको माग सम्वोधन गर्छ भनेर कुरा नगरेको हो, अन्यथा जिल्लाका सांसद सहितको टोली जाने भनेर कुरा भएको हो ।’ जहाज बनिन ढिला भए कम्पनी र सरकारसँग कुरा गर्ने तामाङ बताउँछन् ।

यहाँ सीता, तारा, समिट एयर लगायतका निजी कम्पनीले उडान गरेका थिए । तर अफ सिजनमा उडाउने र पर्यटकीय सिजनमा केन्सील गरेपछि स्थानीयले विरोध जनाएका थिए । त्सपछि क्रमश बन्द भए । २०३३ सालमा निर्माण भइ सञ्चालनमा आएको विमानस्थल पचासको दशकमा पुग्दापनि भरपर्दो नहुनुले जिल्लालाई चिन्तित बनाएको छ ।

सदरमुकामबाट ८ किलोमिटर दुरीमा रहेको विमानस्थल कालोपत्रे भएपछि नियमित होला भन्ने आशा भएपनि त्यस्तो नभएको फुङलिङ नगरपालिकाका डिल्ली पौडेल बताउँछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर