वैशाख २९ गते । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर भएका छन् । ईश्वरपुर नगरपालिका –९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो ।
अन्दाजी ३४ वर्षका श्रीमान् रम्भा महतोको सोही घटनामा करेन्ट लागेर अवस्था गम्भीर बनेको छ । उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रहरीका नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गएराति रम्भाको घर अगाडि ११ हजार भोल्टेजको विद्युतीय तारमा बेरिएको इन्टरनेटको तार चुडिएर झरेको थियो । इन्टरनेटको तार उठाउन खोज्दा रम्भालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । श्रीमानलाई करेन्ट लागेको देखेपछि हतारमा बचाउन पुगेकी कुसुमलाई पनि करेन्ट लागेको थियो ।
घटना लगत्तै स्थानीयले महतो दम्पतीलाई उपचारका लागि अस्पताल पुगाएका थिए । उपचारका लागि कुसुमलाई सिद्धि विनायक अस्पताल पुगाएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमान् रम्भाको भने बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि प्रदेशिक अस्पताल मलङ्गवामा राखिएको इलाका प्रहरी कार्यालय केश्वरगङ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस