हेटौँडा, असार १९ गते । मानव अङ्गदानपछि एक व्यक्तिबाट अर्को व्यक्तिमा गरिने प्रत्यारोपणमा समेत लैङ्गिक विभेद हुने गरेको पाइएको छ।
नेपालमा हालसम्म एक हजार जनामा मिर्गौला प्रत्यारोपण हुँदा मिर्गौलादातामा पुरुषभन्दा महिला बढी पाइनुले अङ्गदानमा समेत लैङ्गिक विभेद देखिएको हो।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले यहाँ आयोजना गरेको कार्यक्रममा केन्द्रले मिर्गौला प्रत्यारोपण सुरु गरेको १० वर्षमा एक हजार ७८ जनामा मिर्गौला प्रत्यारोपण भएको जानकारी दिएको छ। यो प्रत्यारोपणमा महिला दाता ७२ प्रतिशत छन् भने पुरुष दाता २८ प्रतिशत छन्। मिर्गौला प्रत्यारोपण गरिएका कुल व्यक्तिमध्ये महिला २८ प्रतिशत मात्र छन्।
विसं २०६९ मा स्थापना भएको केन्द्रले गत पुस मसान्तसम्ममा एक हजार जनामा मिर्गौला प्रत्यारोपण गर्दा मिर्गौला प्रत्यारोपण गरिएका पुरुषको सङ्ख्या ७९९ जना र महिलाको सङ्ख्या २०१ जना रहेको छ। यस्तै केन्द्रको तथ्याङ्क अनुसार गत पुस मसन्तसम्ममा ९९६ जना मिर्गौला दातामध्ये मिर्गौला प्रत्यारोपण गर्न दान गर्ने पुरुष दाता २७५ जना र महिला दाता ७२१ जना रहेका छन्।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला प्रत्यारोपणमा पनि महिला र पुरुषबिच लैङ्गिक विभेद रहेको जानकारी दिनुभयो।
“मानव अङ्गदान र प्रत्यारोपणमा लैङ्गिक भेदभाव अन्त्य आवश्यक छ। आमाले बाबु र छोरालाई मिर्गौला दिने, छोरीले दिन मिल्ने तर बाबु वा छोराले आमा वा छोरी वा आफन्तलाई दिन नमान्ने अवस्था छ, मिर्गौला दिँदा कमजोर हुन्छ, कमाइ गरेर खानु पर्छ भन्ने मानसिकता छ,” डा. श्रेष्ठले भन्नुभयो। महिलाले मात्र मानव अङ्ग आफन्तलाई दान गर्नु पर्छ भन्ने मानसिकता हट्नुपर्ने उहाँको धारणा छ। १५ देखि ६६ वर्ष उमेर समूह सबभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिने समूह रहेको पाइएको छ।
केन्द्रले १० वर्षको अवधिमा ३० हजार जना मिर्गौलाका बिरामीको डायलासिस, कार्डियोलोजी र ओपन हर्ट सर्जरी, लिभरको प्रत्यारोपण, मस्तिष्क मृत्युपश्चात् हुने लिभर र मिर्गौलाको प्रत्यारोपण सुरु गरेको छ। नेपालमा हाल तीन हजार जनामा मिर्गौलाले काम नगर्ने र एक हजार जना अग्नाशय (लिभर) ले काम नगर्ने बिरामीमा प्रत्यारोपणको माग रहेको छ तर नेपालमा हाल वार्षिक ३५० जनाको मिर्गौला र पाँच जनाको लिभर प्रत्यारोपण हुँदै आएको छ। तीन लाख जना मधुमेहका बिरामी नेपालमा रहेका केन्द्रको तथ्याङ्क छ।
उहाँका अनुसार मानव शरीरमा अङ्ग प्रत्यारोपणपछि बिरामीको आयु बढ्ने, गुणस्तरीय जीवनमा सुधार आउने र मिर्गौलाको डायलासिसको तुलनामा प्रत्यारोपण कम खर्चिलो हुने जानकारी दिँदै उहाँले नेपाल सर्ने र नसर्ने दुवै रोगको चेपुवामा रहेको बताउनुभयो। उहाँले सन् २००८ मा विश्व स्वास्थ्य सङ्गठनले नेपालमा मिर्गौलाले काम नगर्ने बिरामी ९० प्रतिशतभन्दा बढीको मृत्यु हुने बताएको स्मरण गर्दै मिर्गौला डायलासिस सेवामा विस्तारसँगै प्रत्यारोपण सुरु भएपछि मिर्गौलाका बिरामीको अवस्थामा सुधार आएको बताउनुभयो।
नेपालमा मिर्गाैलाका बिरामी डायलासिसपछि ९० प्रतिशत र मिर्गाैलाको प्रत्यारोपणपछि ९८ प्रतिशत बाँच्न सफल भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “विकसित देशमा मानव अङ्गदानबाट हुने प्रत्यारोपणका दातामध्ये मस्तिष्क मृत्युपछि प्राप्त हुने अङ्गदानको हिस्सा ८० प्रतिशत रहेकाले नेपालमा पनि मस्तिष्क मृत्युपछि मानव अङ्गका लागि चेतना वृद्धि आवश्यक छ।”
मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमन तथा निषेध) ऐन निर्माण र त्यसमा पछिल्लो समय भएको सुधारपछि मानव अङ्गको बेचबिखन कार्य निरुत्साहित हुँदै गएको छ। पहिलेको ऐन अनुसार नजिकको नातेदारबाट मात्र मानव अङ्गदान हुँदै आएकोमा मानव शरीरको अङ्ग प्रत्यारोपण ऐनमा गरिएको सुधारपछि आपसी साटासाट दुई वा दुईभन्दा बढी परिवारबिच र मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदानबाट हुने प्रत्यारोपणको व्यवस्था गरिएको छ।
केन्द्रका नेफ्रोलोजिस्ट डा. सुरेश महर्जन एउटा व्यक्तिको मस्तिष्क मृत्युपछि गरिने अङ्गदानबाट आठ जनाले नयाँ जीवन पाउने भएकाले यससम्बन्धी जनचेतना वृद्धि आवश्यक भएको बताउनुभयो।
मिर्गौला र फोक्सो दुई दुई जनालाई, मुटु, कलेजो, सानो आन्द्रा, अग्नाशय (प्याङ्व्रिmयाज) एक एक जनालाई दान गर्न सकिने बताउँदै उहाँले मस्तिष्क मृत्युपछि प्राप्त मुटु छ घण्टाभित्रमा, फोक्सो आठ घण्टाभित्रमा, सानो आन्द्रा १० घण्टाभित्रमा, कलेजो १५ घण्टाभित्रमा अग्नाशय २४ घण्टाभित्रमा र मिर्गौला २४ घण्टाभित्रमा प्रत्यारोपण गरिसक्नुपर्ने बताउनुभयो। नेपालमा हालसम्म मस्तिष्क मृत्यु भएका तीन जनाको लिभर अर्को व्यक्तिमा प्रत्यारोपण भइसकेको छ।