एस् ए टी भी २५ फाल्गुन, काठमाडौँः गौतम बुद्धको जन्मस्थल लुम्बिनी र वरपरका बौद्ध सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी चैत्र ९ गतेको दिन लुम्बिनीमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुने भएको छ ।
शान्ति म्याराथन नेपाल ओलम्पिक कमिटी, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल पर्यटन बोर्डको सह-आयोजनामा हुन लागेको हो।
म्याराथन पुरुष, हाफ म्याराथन महिला,५ कि.मी. पब्लिक दौड तथा ५ कि.मी. स्कुल दौड गरी चार विधामा हुने प्रतिस्पर्धामा हरेक विधाका विजेता तथा अन्य विजेताहरूले सम्मानजनक पुरस्कार पाउने छन्। म्याराथन पुरुष तर्फका विजेताले तीन लाख पचास हजार, दोस्रो हुनेले दुई लाख पचास हजार तथा दशौँ स्थान सम्मकालाई पुरस्कार रहेको छ भने महिला तर्फ हाफ म्याराथन विजेताले एक लाख पचास हजार पाउनेछन्।
५ कि.मी. पब्लिक दौड र स्कुल दौडका विजेताले भने क्रमशः १२ हजार तथा १० हजार पुरस्कार पाउने व्यवस्था रहेको आयोजकले जनाएका छन्।
यस अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा जो सुकैले सहभागी हुन पाउने छन् भने अधिकतम सहभागिताको अपेक्षा रहेको आयोजकले जनाए। सहभागिता जनाउन माथि उल्लेखित क्यु आर कोड स्क्यान गरेर फर्म भर्नु पर्नेछ। साथै गुगल फर्म भरेर सहभागी हुन सकिने आयोजकले जनाएका छन्।