नेभिगेसन मेनु

बजार व्यवस्थापन नहुँदा किसान मारमा
सम्पादक:南亚网络电视
समय:2023-01-20 12:54

Untitled-2

जिल्लाको सबैभन्दा पुरानो र जेठो नगरपालिका कलैया उपमहानगरपालिकाले लगानी गरेको कृषि बजार व्यवस्थापन हुन नसक्दा किसानहरू मारमा पर्दै आएका छन्। पायक पर्ने स्थानमा हाटबजार नहुँदा किसान बिचौलियाको मारमा पर्दै आएको कलैया उपमहानगरपालिका–२ का तरकारी किसान गङ्गा राउतले बताउनुभयो। 

उहाँले भन्नुभयो, “हामीले एक–डेढ महिना लगाएर उत्पादन गरेको हरियो तरकारीमा जति नाफा हुन्छ, बिचौलियाले एकै दिनमा त्यतिभन्दा बढी नाफा कमाउँछन्। बिचौलियाको अन्त्य गर्न कृषि हाटबजारको कलैयामा खाँचो छ। नगरपालिकाले पायक पर्ने स्थानमा हाटबजार राख्नुपर्दछ, जुन स्थानमा उपभोक्ताले सोझै किसानका उत्पादन खरिद गर्न पाउने छन् ।”  

कलैयामा रहेको कृषि बजारको व्यवस्थापन हुन नसक्दा किसान मात्र होइन, उपभोक्तासमेत मारमा पर्दै आएका छन्। थोक बजार सञ्चालनका लागि उपयुक्त ठाउँ भए पनि व्यवस्थापन हुन सकेको छैन। लाखौँको लगानीमा निर्माण भएका स्थानमा डुबान हुने गरेको छ। 

अन्य खाद्य वस्तुजस्तै तरकारीको समेत मूल्य निर्धारण नहुँदा किसान सधैँ मारमा पर्ने गरेको कलैया उपमहानगरपालिका–१२ का किसान श्रीलालप्रसाद कुशवाहाले बताउनुभयो। उहाँले भन्नुभयो, “मूल्य निर्धारण नहुँदा पसलैपिच्छे फरक मूल्य हुन्छ, बिचौलियाले किसानबाट तरकारी खरिद गर्दा विभिन्न बाहनाबाजी बनाउँदै मूल्य घटाएर राख्छ, पछि सोही तरकारी महँगो मूल्यमा बिक्री गर्दछन्। एउटै मूल्य निर्धारण भएमा हामीले जहाँ लगेर पनि उचित मूल्य लिन सकिन्थ्यो, बिचौलियाका कारण हामीले दुःख गर्ने, अरूले नाफा कमाउने काम मात्र भएको छ।”   

किसानले समयमै बीउबिजन, मल नपाएर जेनतेन गरी उब्जाएको कृषिउपजमा बिचौलियाको रजाइँ छ। किसानले निकै मेहनत गरेर फलाएको तरकारी बेचेर किसानले कमाउनेभन्दा बिचौलियाले धेरै नाफा कमाउँदा किसान सधैँ मारमा पर्ने गरेको बाराका तरकारी किसानहरूले गुनासो गरेका छन्। चरम पीडाका बीच बिचौलियाको अन्त्य स्थानीय सरकारले समेत गर्न नसकेको अर्का किसान रुदल महतोले बताउनुभयो। 

व्यवसायीले पसलको भाडा, सरकारलाई कर तिर्नुपर्ने तर किसानले सोझै बिक्री गर्ने गरेकाले मूल्यमा फरक हुने बताउँछन्। नगरपालिका र सम्बन्धित निकायले त्यसको समाधान गर्नुपर्ने कलैया बजारमा तरकारी बेच्दै आएकाहरू बताउँछन् । 

कलैया उपमहानगरपालिकाका प्रशासकीय प्रमुख नाथु साहले केही महिनाभित्र किसान र व्यापारीले बिक्री गर्ने ठाउँ अलगअलग पाउने जानकारी दिनुभयो। जिल्लाका विभिन्न ठाउँमा कृषि बजार व्यवस्थापनका लागि दर्जनौँभन्दा बढी स्थानमा कृषि सेड निर्माण गरी सम्बन्धित पालिकाको जिम्मा लगाइसकेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर