एस् ए टी भी १४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तालिकाबारे परराष्ट्र मन्त्रालयले आज औपचारिक जानकारी दिएको छ । चिनियाँ समकक्षी ली छ्याङको औपचारिक निमन्त्रणा ओली बेइजिङ प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओली मंसिर १७ गतेदेखि २० गतेसम्म (डिसेम्बर २–५सम्म) सम्म चीनको औपचारिक भ्रमण गर्दै छन् । भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, उच्च सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीसहित ८७ जना रहने छन् । विहीबारको मन्त्रिपरिषद बैठकले ओलीको भ्रमण स्वीकृत गरेको थियो ।
१७ गते बेइजिङ प्रस्थान गर्ने ओलीले १८ गते राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटका अवसरमा आपसी चासोका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उनले चिनियाँ जनकांग्रेसका स्थायी समिति अध्यक्ष चाओ लेजीसँग पनि भेटघाट गर्ने कार्यसूची छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मन्तव्य समेत दिने छन् । उनले नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । यो मञ्च नेपालस्थित चिनियाँ दूतावास, चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद र नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजनामा आयोजना हुनेछ ।
प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विहीबार नै चीन गएकी थिइन् । उनी उतैबाट प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुनेछिन् ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली मंसिर २० अर्थात् डिसेम्बर ५ मा नेपाल फर्कने छ ।