
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर २ गते । चार महिनाको अवधिमा मुस्ताङमा दुई लाख २३ हजारभन्दा बढि स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् । मुस्ताङ जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि कात्तिक महिनासम्म दुई लाख २३ हजार ५९ जनाले सडक, पदमार्ग तथा हवाई मार्ग हुँदै मुस्ताङ प्रवेश गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयको पर्यटक आगमन अभिलेखमा चार महिनाको अवधिमा ८९ हजार ३४० पुरूष, ७१ ह्जार ५८९ महिला गरी एक लाख ६० हजार ९२९ जना स्वदेशी पर्यटक र २४ हजार ५४५ पुरूष, १६ हजार ८७८ महिला, अन्य ७ जना गरी ४१ हजार ४३० विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो । चार महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक कात्र्तिक र सबैभन्दा थोरै साउन महिनामा रहेको छ । यस अवधिमा दुई पाङ्ग्रे तथा अन्य सवारीसाधनमा ५४ हजार ५१ घाँसा हुँदै प्रवेश गरेको देखिन्छ ।
मुस्ताङमा वैशाख, जेठ र असोज र कात्तिक महिनामा थामिनसक्नु पर्यटकको भिड लाग्ने गरेको छ । मुस्ताङमा जाडोयाममा समेत पर्यटकको आगमन रोकिएको छैन । कात्तिक महिनाको ३० गते बेनी–जोमसोम सडकखण्डअन्तर्गत घाँसाबाट २१ सय ८७ जना, हवाई मार्गबाट १९ जना प्रवेश गरेका छन् । मनाङ जिल्ला हुँदै थोरङला पासबाट दुई सय एक जना, प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा १३ सय ९० जनाले दर्शन गरेको तथ्याङ्कमा देखिन्छ ।
मुस्ताङबाट बाहिरिनेभन्दा प्रवेश गर्ने पर्यटकको सङ्ख्या नै धेरै रहेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले बताउनुभयो । चिसो समयमा मुस्ताङमा प्रवेश गर्ने पर्यटक हिउँमा रमाउन गरेका छन् । यस समयमा उपल्लो क्षेत्रको तुलनामा स्वदेशी पर्यटक समेत तल्लो क्षेत्रबाट फर्किने गरेका छन् ।
मुस्ताङमा भित्रिने स्वदेशी तथा विदेशी पर्यटकको सिमा क्षेत्र घाँसा, अर्धनिषेधित क्षेत्रको रुपमा रहेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३,छुसाङको प्रवेशद्वारमा रहेको चेकपोष्टमा विवरण सङ्कलन गरिन्छ भने फर्किने क्रममा लेते प्रहरी चौकीले तथ्याङ्क राख्ने गरेको छ । मुस्ताङमा भित्रिने अधिकांस स्वदेशी पर्यटक प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पुग्ने गरेका छन् । प्राचिन गुफा, बस्तीभन्दा टाढा रहेका मानवनिर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङीको कला र संस्कृति, हावापानी र आर्कषक पर्यटकीय गन्तब्य मुस्ताङका प्रमुख आकर्षण हुन् ।





