एस् ए टी भी ३० माघ, काठमाडौँः चिनियाँ प्रविधि तथा विज्ञान सँग परिचित गराउने तथा नेपाली प्रविधि क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ चीनको चाइना मोबाइल विज्ञान तथा प्रविधि सङ्ग्रहालय नेपाल अन्तर्राष्ट्रिय भ्रमण तथा प्रदर्शनी कार्यक्रम नेपालको कीर्तिपुर स्थित वि.पी. कोइराला स्मृती प्लानेटरी,अब्जर्भेटरी तथा विज्ञान सङ्ग्रहालयमा प्रारम्भ भएको छ।
वि.पी. कोइराला स्मृती प्लानेटरी,अब्जर्भेटरी तथा विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनत कुमार शर्माको अध्यक्षतामा बसेको बैठकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराई , नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत छन् सोङ, नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा वि.पी. कोइराला स्मृती प्लानेटरी,अब्जर्भेटरी तथा विज्ञान सङ्ग्रहालय अध्यक्ष विश्व बाबु पुडासैनी, चाइना मोबाइल विज्ञान तथा प्रविधि सङ्ग्रहालयका निर्देशक कुओ च लगायतको उपस्थिति थियो।
कार्यक्रममा चाइना मोबाइल विज्ञान तथा प्रविधि सङ्ग्रहालयले प्रदान गरेको उपकरणहरू हस्तान्तरण भएको थियो। उपकरणहरू चाइना मोबाइल विज्ञान तथा प्रविधि सङ्ग्रहालयका निर्देशक कुओ चले वि.पी. कोइराला स्मृती प्लानेटरी,अब्जर्भेटरी तथा विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनत कुमार शर्मालाई प्रदान गरेका थिए।
त्यस्तै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराईले चाइना मोबाइल विज्ञान तथा प्रविधि सङ्ग्रहालयका निर्देशक कुओ चलाई मायाको चिनो प्रदान गरेकी थिइन्। चिनियाँ विज्ञान तथा प्रविधि प्रदर्शनी भाग उद्घाटन गर्न मन्त्री भट्टराई तथा राजदूत महामहिम छन् सोङले रिबन काटेर गरेका थिए।
कार्यक्रममा बोल्दै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराईले नेपाल र चीन बिच थुप्रै क्षेत्रहरूमा सहकार्य हुँदै आइरहेको र त्यसकै सिलसिलाको रूपमा विज्ञान तथा प्रविधि क्षेत्रमा पनि पहल भइरहेको प्रति खुसी व्यक्त गरिन्। पूर्वाधार विकास, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्र हुँदै चीनले नेपालको प्रविधि विकासमा टेवा पुर्याउन सहयोग गरेमा छिट्टै नेपालले यस क्षेत्रमा ठुलो फड्को मार्न सक्ने पनि उनको विश्वास रहेको थियो। बेल्ट एण्ड रोड इनिसिएटिभ(बि आर आइ)ले नेपाल तथा चीनका बिचमा आर्थिक तथा अन्य सहकार्यमा थुप्रै ढोकाहरू खोलेको बताउँदै उनले दुवै देशको समान फाइदाका निम्ति प्रविधि क्षेत्रले अझै सहयोग पुर्याउनेमा आशा पनि व्यक्त गरिन्।
नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत छन् सोङले नेपाल चीन मित्रता धेरै लामो र गहिरो भएको बताउँदै २०२४मा हस्ताक्षर भएको बि आर आइ फ्रेमवर्कलाई अगि बढाउँदै नेपालको सर्वाङ्गीण विकासमा चीनले सहयोग पुर्याउने आश्वासन दिए। उनले नेपालका करिब हरेक क्षेत्रमा चिनियाँ सहयोग तथा सहकार्य पुगिरहेका बेला प्रविधिका क्षेत्रमा पनि यो सिलसिला सुरु हुनुले अर्को अवसरको ढोका खोलेको बताए। चीनले विज्ञान र प्रविधिको क्षेत्रमा हासिल गरेको उपलब्धि बाट नेपालीले सिक्ने धेरै ठाउँ रहेको र त्यसका लागि चीन हर समय तयार रहेको पनि उनले बताएका थिए।
चाइना मोबाइल विज्ञान तथा प्रविधि सङ्ग्रहालयका निर्देशक कुओ चले चिनियाँ विज्ञान तथा प्रविधि सङ्घको पहलमा चिनियाँ नागरिकलाई प्रविधि सँग जोड्ने हेतुले चाइना मोबाइल विज्ञान तथा प्रविधि सङ्ग्रहालय २०११ मा प्रारम्भ भए यता विज्ञान तथा प्रविधि क्षेत्रमा थुप्रै काम गरेको र बि आर आइको अवधारणा आइसके पश्चात् म्यानमार, कम्बोडिया जस्ता थुप्रै देशमा प्रदर्शनी आयोजना भैसकेको र नेपालमा पनि आयोजना गर्न पाउँदा हर्षित भएको बताएका थिए।
'स्पार्क म्युजियम' नाम दिएर सञ्चालन भएको प्रदर्शनीमा ६० अन्तरक्रियात्मक प्रदर्शनीहरू प्रस्तुत भएका थिए। प्रदर्शनी अवलोकन गर्न विभिन्न विद्यालयबाट विद्यार्थीहरू पनि उपस्थित थिए। बुद्धिमान रोबोट र चस्मा-रहित थ्रिडी टेलिभिजनहरू जस्ता अत्याधुनिक प्रविधिहरू, मोबाइल डोम थिएटर लगायतका उत्कृष्ट प्रदर्शनी भएको थियो।
चाइना मोबाइल विज्ञान तथा प्रविधि सङ्ग्रहालय नेपाल अन्तर्राष्ट्रिय भ्रमणको नेपालमा तीन वर्षे कार्यतालिका रहेको छ, जसमा चीन र नेपालले संयुक्त रूपमा "लिसन साइन्स स्पेस" स्थापना गर्नेछन् र कर्मचारी आदानप्रदान, प्रशिक्षण र पाठ्यक्रम विकास जस्ता क्षेत्रमा गहिरो सहयोगमा संलग्न हुनेछन्। यस्ता प्रकृतिका कार्यक्रमले नेपाल तथा चीन परस्पर सम्बन्ध मजबुत बनाउन कडीको काम गर्ने आयोजकले विश्वास पनि लिएका छन्।