एस् ए टी भी २७ माघ, काठमाडौंः युवा फुटबलको विकास र फुटबलको माध्यमबाट दुई देशबिचको सम्बन्ध विस्तार गर्ने अपेक्षाका साथ छिमेकी मित्रराष्ट्र चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघको आयोजना र नेपालस्थित जनवादी गणतन्त्र चीनको राजदूतावासको सहयोगमा यही फेब्रुअरी १५, २०२५( फागुन ३, २०८१) मा दशरथ रङ्गशालामा नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबिच मैत्रीपूर्ण फुटबल खेल आयोजना हुन गइरहेको छ।
आज भएको पत्रकार सम्मेलनमा खेल सम्बन्धी जानकारी साझा गरिएको थियो। यस खेलको प्राविधिक पक्षको सबै जिम्मेवारी अखिल नेपाल फुटबल संघ (एन्फा)को रहने र खेलसम्बन्धी अन्य जिम्मेवारी ( मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ, सांस्कृतिक कार्यक्रम) नेपालस्थित जनवादी गणतन्त्र चीनको राजदूतावासको रहनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै जनवादी गणतन्त्र चीनको राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले नववर्ष मनाउने सिलसिलाको सबैभन्दा सुन्दर तथा रोचक गतिविधि नेपाल चीन मैत्री फुटबल खेल रहेको बताए। नेपालको टोलीले अघिल्लो पटक जितेको भएर यस पटक राम्रो तयारी र शक्तिशाली टोली उतार्ने उनको भनाई थियो। युनानको युवा टोलीले यस खेलका लागि धेरै अगाडी देखी नै तयारी गरिरहेको पनि उनले बताए। नेपालमा जस्तै चीनमा पनि फुटबल खेल एकदमै लोकप्रिय रहेको र यस खेलले दुई देशबिचको सम्बन्धमा नयाँ उचाइ थप्ने उनको विश्वास थियो। नेपालको पर्यटन प्रवर्धनका निम्ति चीनमा २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरी मनाइरहेको बताउँदै उनले एकै किसिमको भौगोलिक अवस्थिति भएका नेपाल र युनानको खेल रोचक र प्रतिस्पर्धात्मक हुनेमा आशावादी रहँदै यसको आयोजनामा सहयोग पुर्याउने राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ लगायत मुख्य प्रायोजक तोङ्फङ नाम्मीलाई धन्यवाद प्रकट गरे।
प्रतियोगिताको तयारीका लागि मुख्य प्रशिक्षक राजेश शाहीको नेतृत्वमा नेपाल युवा टोलीका खेलाडी हाल बन्द प्रशिक्षणमा रहेका पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
नेपाल युवा टोली र चाइना युनान युवा टोली बिच हुने यस खेलले नेपाल तथा चीनको आपसी समझदारीमा गतिलो टेवा पुर्याउँदै समग्र नेपाली फुटबल विकासमा नयाँ आयाम थपिनेमा आयोजकले विश्वास लिएको छ।