एस् ए टी भी २३ फाल्गुन, काठमाडौँः नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय निजामती सेवा अस्पताल, जनवादी गणतन्त्र चीन,राष्ट्रिय स्वास्थ्य आयोग अन्तर्राष्ट्रिय स्वास्थ्य आदानप्रदान तथा सहयोग केन्द्र, हङकङ स्वास्थ्य एक्सप्रेस फाउन्डेसन, स्वास्थ्य एक्सप्रेस फाउन्डेसन चीन तथा नेपाल स्थित चिनियाँ राजदूतावासको आयोजनामा काठमाडौँ स्थित निजामती सेवा अस्पतालमा स्वास्थ्य एक्सप्रेस चीन- नेपाल अन्धोपना निवारण केन्द्र स्थापना, आँखा उपचार सामग्री हस्तान्तरण तथा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय सभा उप सभामुख बिमला घिमिरे, शाङघाई कोअपरेसन संस्था असल छिमेक, मित्रता तथा सहकार्य आयोग कि उप प्रमुख तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय स्वास्थ्य आयोग कि भूतपूर्व उपमन्त्री छुई ली, नेपाल स्थित जनवादी गणतन्त्र चीनको राजदूतावासका राजदूत छन् सोङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्त लगायतका विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थिति थियो।
कार्यक्रममा बोल्दै निजामती अस्पतालका कार्यकारी निर्देशक विधान निधि पौडेलले यति ठुलो मात्रामा सहयोग तथा उपकरण लिएर आएको चिनियाँ टोलीलाई स्वागत गर्दै धन्यवाद प्रकट गरे। उनले निजामती अस्पतालको स्तर उन्नतिमा चीन सरकारको अत्यन्तै ठुलो हात रहेको स्पष्ट पार्दै आगामी दिनमा पनि यस्ता प्रकारका सहयोगको निरन्तरताको आशा पनि राखे।
चीन बाट आउनु भएकी शाङघाई कोअपरेसन संस्था असल छिमेक, मित्रता तथा सहकार्य आयोग कि उप प्रमुख तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय स्वास्थ्य आयोग कि भूतपूर्व उपमन्त्री छुई लिले नेपालको यस अस्पतालमा प्रदान गरिएका सामग्रीहरू तथा सहयोगले नेपाल चीन मित्रतामा थप माधुर्य छर्ने विश्वास रहेको बताइन्। यस स्वास्थ्य एक्सप्रेस सेवा सुरु भएको २७ वर्ष भैसकेको र यस बिचमा श्री लङ्का, म्यानमार जस्ता देशहरूमा यसले सुविधा प्रदान गरिसकेको सम्झँदै उनले नेपालका आँखाका रोगीहरूलाई यस सेवाको प्रारम्भ पश्चात् धेरै सहयोग पुगेको आफूले सुन्न चाहेको उनले बताइन्।
"नेपाल र चीनको औपचारिक सम्बन्ध ७० औँ वर्ष पुगेता पनि सामाजिक तथा आर्थिक सांस्कृतिक सम्बन्ध भने धेरै नै पुरानो रहेको छ यस्ता सहयोगले यो सुमधुर सम्बन्धलाई अझै बलियो बनाउँछ।" कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय सभा उप सभामुख बिमला घिमिरेले बताइन्। सन् २०१९ को तत्कालीन राष्ट्रपति विद्या भण्डारीको चीन भ्रमण तथा उहाँका चिनियाँ समकक्षीको नेपाल भ्रमणले एक अर्का प्रतिको विश्वास अझै बढेको विश्वास गर्दै भर्खरै प्रधानमन्त्रीको चीन भ्रमण र बिआरआइ फ्रेमवर्कमा भएको हस्ताक्षरले दुई देशबिचको साझेदारी अझै प्रस्ट पारेको उनको विश्लेषण थियो। सहयोग र स्वास्थ्य एक्सप्रेस अन्धोपना निवारण केन्द्र स्थापनालाई लिएर आफू एकदमै उत्साहित रहेको पनि उनले बताइन्।
नेपाल स्थित जनवादी गणतन्त्र चीनको राजदूतावासका महामहिम राजदूत छन् सोङ्ले नेपाल र नेपालीको सहयोगार्थ चीनको हरेक तह लागि परेको बताए। चीन बाट सामग्री ल्याएर आएको टोलीलाई स्वागत गर्दै अन्य कार्यक्रम जस्तो नेपाली चिकित्सकलाई उपकरण सङ्ग अभ्यस्त हुन सहकार्य गर्ने, नेपाली चिकित्सकलाई तालिम प्रदान गर्ने तथा दुवै देशका चिकित्सक शिविर स्थापना गर्ने जस्ता काम गर्न नेपाल स्थित चिनियाँ राजदूतावासले समन्वय गर्ने बताए। नेत्र रोग अध्ययन तथा अनुसन्धानमा चीन नेपाल स्वास्थ्य एक्सप्रेस अन्धोपना निवारण केन्द्रले उल्लेख्य भूमिका खेल्नेमा उनको विश्वास पनि रहेको छ।
नेपाली अस्पतालमा उपलब्ध मध्ये सबै भन्दा उत्कृष्ट उपकरण सहितको सेवा दिन पाउने कुराले निजामती सेवा अस्पतालका चिकित्सकहरू पुलकित देखिन्थे। उनीहरूले चीन बाट आएको टोलीलाई आभार प्रकट पनि गर्न भ्याए। उच्च गुणस्तरीय प्रविधिले सुशोभित यी उपकरणले रोग पहिल्याउन तथा निदान प्रक्रियामा निकै नै सरल बनाउनेमा उनीहरू आशावादी पनि छन्। कार्यक्रममा दश लाख चिनियाँ युआन सहयोग तथा नेपाल सरकार संघीय मामिला मन्त्रालय, निजामती सेवा अस्पताल तथा दाताहरू बिच हस्ताक्षर पनि भएको थियो। हस्ताक्षर प्रापकका तर्फबाट प्रा.डा. विधान निधि पौडेल तथा दाताका तर्फबाट थाम यिउ छुङ्ले गरेका थिए।
सामग्री आदान प्रदान तथा स्वास्थ्य एक्सप्रेस अन्धोपना निवारण केन्द्र स्थापना तथा हस्ताक्षर कार्यक्रमले दुई देश बिचको सम्बन्धको मोल त बढाएकै छ, नेपालमा उचित उपचार नपाएका आँखाका बिरामीहरूलाई केही आशाको किरण पनि छर्न भ्याएको छ।