नेभिगेसन मेनु

आज धुमधामका साथ महाशिवरात्री मनाइँदै
सम्पादक:南亚网络电视
समय:2025-02-26 12:55

IMG_2448

एस् ए टी भी १४ फाल्गुण, काठमाडौँः भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधि पूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ।

प्रत्येक वर्ष फाल्गुण कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्य देव भगवान् शिवको पूजा आराधना गरी आज देशभर मनाउन लागिएको हो। पर ब्रह्मले फाल्गुण कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोह रात्रि, सुख रात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।

IMG_2302

यस दिनलाई नकारात्मक ऊर्जा समाप्त गरेर सकारात्मक ऊर्जा पलाएको दिनमा हेरिन्छ। भगवान् शिवको रुद्र तत्त्व सक्रिय रहँदा माघ महिनामा ओइलाएका रुखका पातहरू जब शिव तत्त्व अर्थात् शिवत्व सक्रिय हुँदा पुनः पात तथा मुना हरू पलाउन सुरु गर्ने लगायत दीन दुखी हरूका अन्तर आत्मामा धर्मको बीज रोप्ने पवित्र दिनको रूपमा यस दिनलाई लिने गरेको पाइएको छ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्व सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाई भजन कीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने परम्परा रही आएको छ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज आराध्य देव पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्ड दीप, लक्ष्य बत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ। कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ। भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भाग लगायत छिमेकी राष्ट्र भारतका तिर्थालु भक्तजनको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार गए राति ०२ बजे देखि नै मन्दिर प्रवेशकालागि द्वारहरू खुला गरिएको छ। मन्दिर प्रवेश गरी पशुपतिनाथको दर्शन गर्न सबेरै देखि भक्तालुहरू निकै लामो ताँतीमा लामबद्ध रहेको देख्न सकिन्छ।

IMG_2338

महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्त्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्। आज बेलुकी करिब छ बजेदेखि पशुपतिनाथ मन्दिरमा प्रहर पूजा सुरु हुन्छ। पहिलो प्रहर पूजा करिब पौने नौ बजे सकिन्छ। नौ बजेको हाराहारीमा दोस्रो प्रहर पूजा सुरु हुन्छ। यो करिब पौने १२ बजे सकिन्छ। करिब १२ बजेको हाराहारीमा तेस्रो प्रहर पूजा सुरु हुन्छ। पौने तीन बजे हाराहारीमा यो सकिन्छ। चौथो प्रहर पूजा करिब तीन बजेको हाराहारीमा सुरु भई बिहान छ बजेको हाराहारीमा सकिन्छ। जप, ध्यान, पूजा, अर्घ्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ।

महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्त्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ। प्राण प्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा गरिन्छ। यसबाट आशुतोष भगवान् शिव खुसी हुने धार्मिक विश्वास छ। यो प्रहर पूजा रुद्रमती किनारस्थित चाबहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वर लगायत मन्दिरमा पनि चार प्रहर पूजा गर्ने परम्परा रहिआएको छ।

IMG_2287

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। सात वर्षअघिदेखि नै पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागूपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कानुनी कारबाही गर्ने गरेको छ। निषेध गरिएका चिजबिज बेचबिखन गर्न नदिई शान्ति सुरक्षा कायम गर्न आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर