एस् ए टी भी २५ माघ, काठमाडौंः नेपाल चीन दौत्य सम्बन्धको ७०औँ वार्षिकोत्सव तथा चिनियाँ नयाँ वर्ष तथा वसन्त उत्सवको उल्लास झल्काउन यही माघ २४ गते काठमाडौँको आर्मी अफिसर्स क्लबमा भव्य कार्यक्रम सम्पन्न भएको छ।
नेपाल स्थित चिनियाँ राजदूतावासको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल तथा चीन दुवै तर्फका सुप्रसिद्ध तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो। नेपाल स्थित चिनियाँ महामहिम राजदूत छन् सोङ, अखिल चाइना फेडेरेसन अफ रिटर्न ओभरसीज चाइनिजको सांस्कृतिक आदानप्रदान विभागका उपनिर्देशक कुओ छिह्वा, समुद्रपार चिनियाँ सङ्घ नेपालका अध्यक्ष चिन स्याओ तोङ,नेपाली समाजसेवी तथा कलाकार आनि छोईङ डोल्मा, चर्चित चलचित्र निर्देशक मीनबहादुर भाम लगायत उपस्थित थिए।
कार्यक्रममा बोल्ने क्रममा नेपाल स्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङ्ले नेपाल स्थित सम्पूर्ण चिनियाँ नागरिकहरूलाई चिनियाँ नयाँ वर्षको शुभकामना प्रदान गरेका थिए। उनले दूतावास घर छोडेर परदेश आएका हरेक चिनियाँको घर भएको र आफू त्यस घरको र घरका सदस्यको सुरक्षार्थ खटिएको हुनाले कोही पनि चिनियाँ दाजुभाइ तथा दिदी बहिनीलाई आफ्नोपनको कमी महसुस हुन नदिने प्रतिज्ञा पनि गरेका थिए। उनले नेपाल चीन सम्बन्धको माधुर्य चुलिँदै गएको र यस सम्बन्धले ७० वर्ष पार गरिसकेको र अझै लामो कालखण्ड यसै गरी गहिरो मित्रता र सम्मानले भरिपूर्ण सम्बन्ध रहिरहने अपेक्षा राख्दै नेपालको समग्र विकासमा आफूहरू हर कदममा नेपाललाई सघाउन तत्पर रहेको पनि जानकारी दिए। साथै उनले,पहिलो पटक नेपाल आएर प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पार्न सफल भएको 'परिवार चीनः वसन्त उत्सव सँगसँगै" टोलीलाई यस वर्षको वसन्त उत्सव तथा नयाँ वर्ष अविस्मरणीय बनाइदिएकोमा धन्यवाद ज्ञापन पनि गरे।
समारोहमा 'परिवार चीनः वसन्त उत्सव सँगसँगै"का विभिन्न कलाकारले साङ्गीतिक प्रस्तुति, नृत्य प्रस्तुति लगायत अन्य मनोरञ्जनात्मक प्रस्तुति देखाएका थिए। कलाकारले डोरीमा डमरु जस्तै देखिने आकृतिहरू नचाउँदा दर्शकहरूले अचम्म मान्दै थपडी बजाएर प्रशंसा गरेका थिए। चर्चित गायिका यिन सिउ मेइले गाएको क्लासिकल सङ्गीतमा झुम्दै अन्य नृत्यङ्गनाहरुको शरीरका अङ्ग अङ्गमा कटौरा नचाउने कलाले सबैलाई दङ्ग र उत्सुक बनाइदिएको थियो। साथै कार्यक्रमको मध्य भागतिर जादुगरको जादुले उत्पन्न भएको रक्सीको प्यालाले साँच्चै माहौल रोमाञ्चक बन्न पुगेको थियो।
कार्यक्रमबाट बाहिर निस्कँदा हरेक दर्शकका आँखामा हर्ष र सन्तुष्टि प्रस्ट देख्न सकिन्थ्यो जसले कार्यक्रमले वर्षभरिको कामले लखतरान परेको शिथिल शरीरलाई पनि नयाँ जोस र ऊर्जा थप्न मद्दत गरेको स्पष्ट देख्न सकिन्थ्यो।