नेभिगेसन मेनु

सस्तो विद्युतीय गाडीमा छुट, विलासीमा थप कर
समय:2022-05-31 05:10

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत ल्याएको आर्थिक विधेयकमा विलासी खालका विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महसुल दुवै वृद्धि गर्ने निर्णय गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवदेखि महँगा तथा विलासी खालका विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने प्रस्ताव गरेका हुन्। सरकारले तीन सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधनको भन्सार महसुल ४० प्रतिशतबाट वृद्धि गरेर ६० प्रतिशत बनाएको छ। त्यसैगरी ३ सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको ४५ प्रतिशत अन्तःशुल्क बढाएर ६० प्रतिशत पुर्‍याउने निर्णय गरेको छ। यी तीन सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधन अन्यन्तै न्यून संख्यामा मात्रै आयात हुँदै आइरहेका छन्।

सरकारले आर्थिक ऐन मार्फत एक सय किलोदेखि दुई सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको १५ प्रतिशत भन्सार महसुललाई वृद्धि गरेर ३० प्रतिशत पुर्‍याएको छ। आर्थिक ऐन मार्फत दुई सय किलोवाटदेखि तीन सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारी साधनको भन्सारदर ३० प्रतिशत रहेकोमा अहिले वृद्धि गरेर ४५ प्रतिशत भन्सार कायम गरेको छ। तीन सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधनको भन्सार महसुल ४० प्रतिशतबाट वृद्धि गरेर ६० प्रतिशत बनाएको छ।

तत्कालीन अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/८९ को अध्यादेशमार्फत ल्याएको बजेटमा एक सय किलोवाट क्षमताको विद्युतीय सवारीसाधन आयात गर्दा १० प्रतिशत भन्सार दर कायम गरेका थिए। त्यसैगरी दुई सय किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत र दुई सयदेखि तीन सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधन आयात गर्दा ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको थियो।

अर्थमन्त्री शर्माले सर्वसाधारणले धेरै चढ्ने भनिएको एक सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधनमा भने अन्तःशुल्क लगाएका छैनन्। एक सय किलोवाटदेखि दुई सय किलोवाट क्षमताका विद्युतीय गाडीमा भने ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ। त्यसैगरी दुई सय किलोवाटदेखि ३ सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनमा ४५ प्रतिशत र तीन सय किलोवाट माथिका विद्युतीय सवारीसाधनमा ६० प्रतिशत अन्तःशुल्क लगाउने भएको छ। नागरिक दैनिकबाट

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर