तातोपानी नाका जोड्ने कोदारी राजमार्ग भासिए पछि तुइनबाट सामान ढुवानी

तातोपानी नाका जोड्ने कोदारी राजमार्ग भास्सिएपछि तुइनबाट सामान ढुवानी गर्न थालिएको छ । भोटेकोशी नदीमा आएको बाढीले नेपाल-चीन सीमा मितेरी पुल नजिकैको लिपिङ पुल र कोदारी क्षेत्रका सडक भास्सिएपछि सामान तुइनबाट तातोपानी भन्सार सम्म ल्याउन थालिएको हो ।


लगातार बर्षाका कारण सवारी आवगमनमा समस्या आएपछि दुई सातादेखि तातोपानी नाका क्षेत्रमा तार जडानगरेर तुइनबाट सामान ढुवानी भइरहेको छ । सीमा क्षेत्रको लिपिङ पुल जोखिमपूर्ण भएपछि दुई सातायता सामान आयात प्रभावित भएको छ । लिपिङदेखि बाह्रबिसेसम्मको २६ किलोमिटर कोदारी सडकखण्ड ठाँउ ठाँउमा भत्किएको छ । काम चलाउ अवस्थामा रहेको लिपिङ पुलबाट सामान बोकेका कन्टेनर आउजाउ गर्न नमिल्ने भएकाले दुईसाता देखि तुइन र स्थानीय मजदुरले सामान बोकेर ल्याइरहेका छन् ।
लिपिङखोलाको बाढीले मोटरेबल पुल क्षतिग्रस्त बनाएपछि नेपाल तर्फको लिपिङदेखि चीन जोड्ने मितेरी पुलबाट खासासम्म तीन सय मालबाहक कन्टेनर रोकिएका छन् । उक्त कन्टेनरमा अक्सिजन प्लान्टका उपकरण, मेडिकल इक्वूमेन्ट, अक्सिजन सिलिण्डर, स्वास्थ्यका सामग्री, औषधी, स्याउ, लसुन, ओखर, लत्ताकपडा लगायतका रोकिएका सामान तुइनबाट ढुवानी भइरहेको हो ।
दुई-दुई ठाउँमा सामान ओसार्नुपर्ने बाध्यता भएपनि तुइनको प्रयोगबाट भन्सार कार्यालयले सामान काठमाडौं पठाएको छ । दिनहुँको वर्षातले लार्चादेखि लिपिङसम्म सडक बिगारेकाले सामान आयात गर्न कठिन भएको छ ।
भौगोलिक कठिनाइ र भौतिक संरचना दिनदिनै जीर्ण बन्दै गएकाले नाका राम्ररी सञ्चालन हुन सकेको छैन । बर्षातका कारण सामान तुइन र बोकेरै तातोपानी ल्याउनुपर्ने अवस्था छ । राजमार्ग भास्सिँदै गएकाले तत्कालै मर्मत सम्भारमा ध्यान नदिए बर्खाभरि नाका सञ्चालनमा आउन कठिन देखिन्छ ।