एस् ए टी भी १० माघ, काठमाडौँः नेपाल स्थित चिनियाँ उद्यमी सङ्घ,चाइना पावर, कम सर्भिस तथा हिमालयन एअर्लाइन्सको अग्रसरतामा काठमाडौँ स्थित अनाथ बालबालिका स्याहार संस्था प्रयास नेपालमा ०९ माघमा नगद तथा जिन्सी सामग्री दान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन भएको छ।
चिनियाँ उद्यमी सङ्घले अन्य संस्थाहरूसँगको सहकार्यमा चिनियाँ नयाँ वर्षको उपलक्षमा परोपकारको काम गर्ने उद्देश्यका साथ १८ जना बालबालिका रहेको प्रयास नेपाल नामक संस्थालाई करिब एक वर्ष पुग्ने गरी खाद्य सामग्री तथा नेरु छ लाख सहयोग गरेको हो।
साथै चाइना मेडिकल टोली बोलाई स्वास्थ्य जाँच तथा परामर्श पनि गरेको थियो। ८ जना चिकित्सक तथा एक जना दोभासेको टोलीले प्रयास नेपालका १८ छात्रछात्रा हरूको स्वास्थ्य जाँच गरी आवश्यक परामर्श गरेका थिए।
प्रयास नेपालकी सञ्चालक मनि जोशीले यस सहयोगले बालबालिकाको पालन पोषणमा धेरै सहयोग पुर्याउने भन्दै दाताहरू समक्ष धन्यवाद प्रकट गरेकी थिइन्।
हिमालय एअर्लाइन्सका अध्यक्ष चउ यिन्योङले अनाथ तथा असहाय बालबालिकाको स्याहारमा प्रयास नेपाल गरिरहेको काम प्रति सराहना प्रकट गर्दै प्रयास नेपालको यस परोपकारको यात्रामा केही सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले यस्ता सहयोग आफ्नो संस्थाले क्रमैसँग गरिरहने पनि जनाए।
विभिन्न कारणले अभिभावक विहीन भएर प्रयास नेपालको शरणमा आएका बालबालिकाको उज्ज्वल भविष्यको लागि प्रयास नेपालले गरिरहेको मेहनत असाध्यै सराहनीय तथा प्रशंसायोग्य छ।