एस् ए टी भी ०५ माघ, काठमाडौंः नेपाल स्थित चिनियाँ राजदूतावास, नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक ऊड्ड्यन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा भक्तपुर नगरपालिकाको मूल आयोजनामा नेपाल पर्यटन वर्ष २०२५ समुद्घाटन तथा चिनियाँ नयाँ वर्षका विभिन्न कार्यक्रम शृङ्खलाको प्रारम्भ भक्तपुर दरबार स्क्वायरको प्राङ्गणमा नेपाल तथा चीनका विभिन्न सांस्कृतिक प्रदर्शनी तथा झाँकीहरू प्रस्तुत गरी सम्पन्न भएको छ।
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, नेपाल स्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङ, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा समुद्घाटन समारोह सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रममा नेपालका तर्फबाट विभिन्न स्कुलका छात्रछात्राहरू, विभिन्न सांस्कृतिक समूह तथा चीनबाट आएका सिंह नृत्य तथा अन्य टोलीहरूले विभिन्न प्रकारका सांस्कृतिक नृत्य तथा प्रस्तुति दिएका थिए। कार्यक्रममा चीनमा निकै प्रचलित ड्र्यागन नाच, सिंह नाच, नेपालका सिंह नाच, तथा विभिन्न वाद्यवादन पनि भएका थिए।
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपाल र चीन सदियौँ देखिका मीत्र रहेको र नेपालले खेप्ने हरेक दुखमा चीनले सहायता गरेको प्रसङ्ग सम्झँदै मित्रताका ७०औँ वर्षको खुसी मनाए। उनले यो मित्रता सयौँ हजारौँ वर्ष रहिरहने आशा पनि व्यक्त गरे। उनले नेपाल पर्यटनका लागि अब नसुनिएको नाम नरहेको र चीनबाट थोरै मात्र पनि पर्यटक भित्र्याउन सक्यौँ भने धेरै फाइदा पुग्ने र त्यसकै लागि नेपाल भ्रमण वर्ष सञ्चालन गरेको र यसको प्रभावकारीताका लागि सरकार खरो रूपमा लागि पर्नेमा जोड दिए।
नयाँ युगको आगमनसँगै, नेपाल र चीनका अग्रणी नेताहरूको नेतृत्वमा विभिन्न आपसी आदान प्रदान भइरहेको प्रसङ्ग कोट्याउँदै नेपाल स्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङ्ले पर्यटन वर्षको कार्यान्वयन पनि त्यही एक सिलसिला रहेको बताए।कार्यक्रममा बोल्दै सोङले, "सन् २०२५ मा "नेपाल पर्यटन वर्ष प्रवर्द्धनात्मक गतिविधिहरू आयोजना गर्नका लागि हामी नेपाललाई चीनमा हार्दिक स्वागत गर्दै थप पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्न चाहन्छौँ" भने। यसले नेपाल तथा चीनको सांस्कृतिक आदान प्रदान तथा सहकार्यलाई अझै प्रगाढ बनाउने उनको विश्वास रहेको थियो।
सांस्कृतिक कार्यक्रममा भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले नेपाल पर्यटकीय दृष्टिले अत्यन्तै सम्भावना भएको त्यो माथि भक्तपुर सांस्कृतिक धरोहर जस्तै रहेको हुनाले यस्ता कार्यक्रमको सह आयोजना आफ्नो नगरपालिकाले गर्न पाएकोमा गौरव महसुस गरे। उनले २०७२ सालको भूकम्प पश्चात् ढलेका संरचनाको पुनः निर्माणमा चीनले गरेको सहयोगको मुक्त कण्ठले प्रशंसा गरे। नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष २०२५ को सम्पूर्ण नेपाली तथा चिनियाँ जनतामा शुभकामना दिँदै उनले कार्यक्रम सफलताको पनि कामना गरे।
कार्यक्रमको मुख्य आकर्षणको केन्द्र चीनबाट आएको सिंह नृत्यको टोली रह्यो। फलामे डण्डीहरूमा उफ्रिँदै चिनियाँ टोलीले देखाएको सिंह नृत्य देख्दा यस्तो लाग्थ्यो साँच्चै जङ्गलको राजा सिंह आएर आफ्नै अगाडी नाचिरहेको छ र मनोरञ्जन दिइरहेको छ। उक्त प्रस्तुतिमा नेपाली तथा अन्य दर्शक झुमेका थिए।
नेपाल तथा चीनको दौत्य सम्बन्ध ७० वर्ष पुगेको अवसरमा नेपालका ७० विद्यार्थीहरूले मादल बजाएर उत्सव पनि मनाएका थिए भने विभिन्न गायन तथा अन्य गतिविधिले कार्यक्रममा थप रोचकता ल्याएको थियो।