एस् ए टी भी १५ पौष, पोखराः नेपालको पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल चीन मित्रता अझै सुमधुर बनाउने उद्देश्यले यही आइतवार देखि सुरु भएको दोस्रो ड्र्यागन डुङ्गा दौड फेस्टिभलको दोस्रो तथा अन्तिम दिन आज २०० मिटर तथा ५०० मिटर ड्र्यागन डुङ्गा दौडमा पहिलो चरणबाट छानिएका ८ टोलीले प्रतिस्पर्धा गरेका थिए। यसका साथै दोस्रो ड्र्यागन डुङ्गा दौड तथा नेपाल चीन मैत्री उत्सव सम्पन्न भएको छ।
प्रतियोगिताको २०० मिटर दौड तर्फ ४७ सेकेण्डमा दौड पुरा गर्दै तोङ्कुआन लाओयु क्लब टोलीले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने युनान मिन्चु विश्वविद्यालय टोली र लिआओछङ विश्व विद्यालय टोली क्रमशः दोस्रो र तेस्रो भएका छन्। ५०० मिटरको प्रतिस्पर्धामा भने दुई मिनेट चार सेकेण्डमा दौड पुरा गर्दै तोङ्कुआन लाओयु क्लब टोलीले नै प्रथम स्थान हात पार्न सफल भएको छ। त्यस्तै दोस्रो र तेस्रो हुने टोली भने क्रमशः लाओछङ विश्वविद्यालय र वुहान स्पोर्ट्स विश्वविद्यालय टोली रहेका छन्।
प्रतिस्पर्धा सकिए लगत्तै पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो। पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, नेपाल स्थित चिनियाँ राजदूतावासका राजदूत महामहिम छन् सोङ, पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य, नेपाल ड्र्यागन बोट एसोसिएसनका महासचिव, चिनियाँ ड्र्यागन बोट एसोसिएसनका महासचिव वेइ वेइ लगायतको उपस्थिति थियो।
कार्यक्रममा खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले निकै सुन्दर खेल ड्र्यागन डुङ्गा दौड पोखराले आयोजना गर्ने सौभाग्य पाएकोमा खुसी व्यक्त गर्दै चिनियाँ पक्षलाई धन्यवाद ज्ञापन गरेका थिए। यस प्रतियोगिताको सफलताले आगामी दिनमा पनि यस्ता पर्यटनात्मक क्रियाकलाप पोखराले आयोजना गरि रहने प्रतिबद्धता उनले प्रकट गरे। पर्यटन क्षेत्र मात्रै नभई पोखराले अन्य थुप्रै विधामा आफ्नो सक्रियता बढाउँदै गरेको सुनाउँदै उहाँले भविष्यमा यस्ता प्रकृतिका कार्यक्रमहरू निरन्तर हुने जानकारी गराएका थिए। चीन बाट आएका टोलीमा २३ वर्ष भन्दा मुनिका खेलाडीहरू बढी रहेको जनाउँदै उनले महानगरले यहाँका विद्यालय तथा विश्वविद्यालयसँग समन्वय गरेर उमेर समूहमा ड्र्यागन डुङ्गा दौड प्रतियोगिता आयोजना गर्ने गृहकार्य थालेको उनले बताएका थिए। उनले खेल तथा खेल पर्यटनको समग्र विकासमा संघीय सरकारको ध्यानाकर्षण पनि गराएका थिए।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले पोखरा पर्यटनको मात्रै नभई खेलकुदको पनि राजधानी हुन तर्फ अग्रसर रहेको भन्दै यो अग्रसरता निरन्तर रहि रहनु पर्नेमा जोड दिएका थिए । उनले नेपाली पर्यटन क्षेत्रमा गरि रहेको लगानी प्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा यस्ता प्रकृतिका कार्यक्रमहरू निरन्तर भइ रहने आश्वासन प्रदान गरे। सांस्कृतिक आदान प्रदानमा मुख्य यस्ता प्रतियोगिताले दुई देश बिचको सम्बन्ध अझै प्रगाढ बनाउन भूमिका खेल्ने पनि उनले बताएका थिए। साथै नेपालको पर्यटन प्रवर्द्धनमा ड्र्यागन डुङ्गा दौड फेस्टिभलले ठुलो भूमिका खेल्ने बताउँदै उनले आयोजक प्रति आभार प्रकट गरेका थिए।
नेपाल स्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङले ड्र्यागन डुङ्गा दौड अघिल्लो वर्ष भव्यताको साथ सम्पन्न भएको सम्झँदै, यस वर्ष त्यो भन्दा उत्कृष्ट रूपमा आयोजना भएकोमा खुसी व्यक्त गरे र आउँदा वर्षहरूमा अझै उत्कृष्ट हुँदै जाने आशा पनि व्यक्त गरे। नेपाल तथा चीनको मैत्रीपूर्ण सम्बन्धमा यस प्रतियोगिताले उचाइ थप्ने काम गरेको बताउँदै आफूहरू नेपालको चौतर्फी विकासका निम्ति जस्तो सुकै सहयोग गर्न तत्पर रहेको बताए। हजारौँ वर्ष देखिको सम्बन्धलाई विभिन्न समयमा अझै सुमधुर बनाउने कडीका रूपमा केही न केही अथवा कोही न कोही आउने चलन जस्तै बनेकोमा अहिले त्यो काम ड्र्यागन डुङ्गा दौडले गर्नेमा उनले विश्वास जनाए। चीन तथा सिङ्गापूरबाट टोलीहरू नेपाल आएर आफ्नो कौशल प्रदर्शन गरे जस्तै नेपाली टोली पनि विभिन्न देश तथा चीन गएर पनि आफ्नो दक्षता प्रस्तुत गरे अझै गौरव लाग्ने उनको भनाई थियो। अघिल्लो पटक भन्दा तेब्बर बढी प्रतिस्पर्धीको सङ्ख्या देखेर उनी निकै खुसी देखिएका थिए। अघिल्लो पटक नेपाली टोली छोटो तयारीमा पनि निकै शक्तिशाली देखिएकोमा अहिले केही बढी आत्म विश्वासी भएर खेल खस्किएको हो कि भन्ने आशङ्का व्यक्त गर्दै अर्को पटक राम्रो तयारी गर्न सुझाव पनि दिएका थिए। आगामी २०२५ मा नेपाल भ्रमण वर्ष मात्रै नभएर पोखरा भ्रमण वर्ष पनि रहेकाले ड्र्यागन डुङ्गा रेस प्रतियोगिताले सम्पूर्ण राष्ट्रको पर्यटनमा टेवा पुग्ने विश्वास पनि उनले लिएका छन्।
आज भएको फाइनल चरणको खेलमा २०० र ५०० मिटर को दौडमा सहभागी २० टोली बाट हिजोको समूह चरण पार गरेर आएका ८ टोलीले प्रतिस्पर्धा गरेका थिए। पाँच समूहमा विभाजन गरेर हरेक समूहको समूह विजेता तथा उत्कृष्ट ३ उपविजेता छनौट गरी आज भएको फाइनल्सको लागि सिफारिस गरिएको थियो। २०० मिटरको फाइनल्सको लागि वुहान विश्वविद्यालय खेलकुद टोली, हुबेइ युनिभर्सिटी अफ इकोनोमिक्स टोली, लिआओछङ विश्वविद्यालय टोली, नारा टोली, युनान मिन्चु विश्वविद्यालय टोली, तोङ्कुआन लाओयु क्लब टोली, सिचुआन लुचौ ड्र्यागन बोट टोली तथा युनान नर्मल विश्वविद्यालय थिए भने ५०० मिटरको फाइनल्सको लागि चाइना सिचाङ लिन्चि ड्र्यागन बोट टोली,लिआओछङ विश्व विद्यालय,सिचुआन लुचौ ड्र्यागन बोट टोली,पिएमसी टोली,युनान नर्मल विश्वविद्यालय,तोङ्कुआन लाओयु क्लब टोली,वुहान विश्वविद्यालय खेलकुद टोली तथा युनान मिन्चु विश्वविद्यालय टोली थिए।
प्रतियोगिताका लागी एक सय भन्दा बढी खेलाडी तथा अधिकारीहरूको जम्बो टोली सिचुआन एयरलाइन्सको विमान मार्फत गत बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको थियो। प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने प्रतियोगीलाई पाँच हजार अमेरिकी डलर , दोस्रो हुनेलाई २ हजार , तेस्रोलाई १ हजार २ सय तथा अन्य सत्र टोलीलाई सान्त्वना स्वरूप पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। यस पर्व तथा प्रतियोगिताले पोखराको पर्यटनमा सकारात्मक ऊर्जा छर्नुका साथै नेपाल चीन सम्बन्धलाई अझै मजबुत बनाउन भूमिका खेल्ने आम विश्वास छ।