नेभिगेसन मेनु

सबै वडामा सञ्चार सुविधा पुर्‍याइएको छ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-09 12:57

Untitled-2

भौगोलिक रूपमा नेपालकै ठुलो जिल्लाका रूपमा परिचित छ, डोल्पा । दुर्गम र विकासका दृष्टिले कठिन अवस्था झेलिरहेको डोल्पाको उत्तरपश्चिम क्षेत्रमा रहेको से फोक्सुन्डो गाउँपालिका पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण छ । साबिकका साल्दाङ, भिजेर र फोक्सुन्डो गाउँ विकास समिति मिलाएर से फोक्सुन्डो गाउँपालिका बनाइएको हो । यहाँको से फोक्सुन्डो ताल हेर्न बर्सेनि हजारौँ पर्यटक पुग्छन् । समुद्री सतहदेखि करिब २३ सयदेखि सात हजार ४२५ मिटर उचाइमा अवस्थित यस गाउँपालिकाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको भूभाग पर्छ । उच्च हिमाली यस गाउँपालिकाको सम्पूर्ण भूभाग हिमाल, डाँडापाखा र समथर घाँसे मैदान पर्छ । फोक्सुन्डो ताल र से गुम्बालगायत प्राकृतिक तथा धार्मिक सम्पदाका हिसाबले यो पालिका धनी छ ।  स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट अध्यक्षमा धावा साम्दुप निर्वाचित हुनुभएको छ । प्रस्तुत छ, पालिका अध्यक्ष साम्दुपसँग पालिकाको विकास निर्माणलगायत विषयमा गोरखापत्रका डोल्पा समाचारदाता विष्णुप्रसाद देवकोटाले गर्नुभएको कुराकानी : 

जनप्रतिनिधिका रूपमा के कस्ता चुनौती भोग्नु परेको छ ?

डोल्पा जिल्लामा भौगोलिक विकटता छ । त्यसैमा पनि उपल्लो डोल्पामा पर्ने हाम्रो पालिका सडक, सञ्चार र विद्युत् विकासको दृष्टिले पछाडि छ । यहाँका बासिन्दाका समस्या धेरै छन् तर भौगोलिक विकटताले समाधानका लागि धेरै चुनौती छन् । पालिकाको प्रशासनिक भवन, वडा कार्यालय तथा आवश्यक संरचना निर्माण गर्न, आवश्यक मात्रामा दरबन्दी अनुसार स्थायी कर्मचारीको व्यवस्थापन गर्न, दुर्गम ठुलो भौगोलिक स्थानमा रहेको पालिका भएर पनि समस्या समाधान गर्न आवश्यक बजेट विनियोजन नहुनु तथा पालिकाको आन्तरिक राजस्व अपेक्षित रूपमा उठ्न नसक्नु जस्ता प्रमुख समस्या छन् ।

पालिकामा गर्नुपर्ने काम के कस्ता छन् ? कसरी गर्ने लक्ष्य छ ?

से फोक्सुन्डो गाउँपालिकालाई समृद्ध तथा सुखी पालिका बनाउन धेरै काम गर्नुपर्ने छ तर हामीसँग सीमित स्रोतसाधन भएकाले ती साधनको उचित उपयोग गरी काम गर्नैपर्ने देखिन्छ । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्थापन, आधारभूत स्वास्थ्य सुविधामा सबै नागरिकको पहँुच, सरल स्वास्थ्य सेवाको प्रत्याभूति, सबै वडामा भरपर्दो विद्युतीकरण, दिगो तथा स्वच्छ खानेपानी, मोटरबाटो व्यवस्थाको पहल र कृषिमा आधुनिकीकरण तथा बजारीकरणका साथै पर्यटन क्षेत्रको विकासमा धेरै काम गर्नुपर्ने लक्ष्य छ । 

तपाईंको पालिकामा अहिलेसम्मका उपलब्धि के के छन् ?

सीमित स्रोतसाधनका बिच हाम्रो नगरपालिकाले धेरै उपलब्धि हासिल गरिसकेको छ । तीमध्ये आफ्नै प्रशासकीय भवन निर्माण भई सेवा सञ्चालनमा आएको छ । सबै जनतालाई सौर्य ऊर्जाको व्यवस्थापनतिर अघि बढाइएको छ । पालिकाका अधिकांश वडामा सञ्चार सेवा पुगेको छ । शिक्षकको दरबन्दी मिलान भई सबै सामुदायिक विद्यालयमा न्यायोचित वितरण भएको छ । सबै वडामा स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य एकाइको व्यवस्था गरी घुम्ती स्वास्थ्य सेवामार्फत पनि स्वास्थ्य सुविधा दिइँदै आएको छ । रैथाने बाली संरक्षण, पशुमा नस्ल सुधारका लागि उन्नत जातका बाख्रा तथा बोका, चौँरी वितरण गरिएको छ । भेडाबाख्राको ऊनबाट राडीपाखी उत्पादन, चौँरीको दुधबाट चिज उत्पादन उद्योग सञ्चालनमा सहयोग र से फोक्सुन्डो तालमा पर्यटकीय पदमार्ग निर्माणको कामलाई उपलब्धिका रूपमा मानेका छौँ । 

पालिकाका मुख्य समस्या के के हुन् ? ती समस्या समाधान गर्न के कस्ता योजना छन् ? 

हाम्रो पालिकाका धेरै समस्या छन् । पालिकावासीलाई कसरी गुणस्तरीय शिक्षा दिने, सरल तथा सुलभ स्वास्थ्य सेवा, सडकको विकास तथा विद्युत्, खानेपानी, कृषिको आधुनिकीकरण एवं पर्यटनमार्फत आय आर्जन वृद्धि गरेर रोजगारी सिर्जनासहित गरिबी न्यूनीकरण कसरी गर्ने भन्ने समस्या छन् । समाधानका लागि बजेट विनियोजन प्राथमिकता अनुसार गर्ने तथा अन्य सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी समाधान गर्ने योजना छ । शान्तिसुरक्षाको स्थायी व्यवस्थापन, स्थायी सुरक्षा व्यवस्थापन नहुँदा धार्मिक तथा ऐतिहासिक र पर्यटकीय सम्पदाको चोरी, व्यक्ति हत्या, लुटपाटका घटना बढ्दै जाने पनि समस्या छन् । 

सङ्घीय तथा प्रदेश सरकारसँग विकास कार्यमा के कसरी समन्वय गरिरहनुभएको छ ?

पर्यटन विकासको माध्यमबाट समृद्ध गाउँपालिका निर्माणका लागि पालिकाको स्रोत तथा प्रयासले मात्र असम्भव देखिन्छ । पालिकाको शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन जस्ता क्षेत्रको विकासका लागि सङ्घीय तथा प्रदेश सांसदलगायत विभिन्न मन्त्रालय, आयोग तथा सरकारी एवं गैरसरकारी संस्थासँग समन्वय तथा सहकार्यको प्रयास भइरहेको छ ।

समृद्ध पालिकाका लागि के कस्ता योजना बनाउनुभएको छ ?

सुखी तथा समृद्ध गाउँपालिका निर्माणका लागि सबै वडामा सहज आवतजावत गर्न कच्ची सडक स्तरोन्नति गर्ने, वडा तथा स्वास्थ्य सेवा विद्यालयमा सुविधासम्पन्न संरचना निर्माण गर्ने, गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको प्रत्याभूति गराउने, सौर्य ऊर्जाको विस्तार र विद्युत् विकासमा पहल गर्ने योजना छ । खानेपानीको सुविधा विस्तार गर्ने, कृषि तथा पशुपालनमा आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै लैजाने र लघु तथा घरेलु उद्योगमार्फत रोजगार सिर्जना गर्ने योजना छ । 

डोल्पाका अन्य स्थानीय तहविरुद्ध अख्तियारमा मुद्दाको चाङ भएको पाइन्छ । यो गाउँपालिकाविरुद्ध अख्तियारमा मुद्दा परेको देखिन्न, किन होला ?

अहिलेसम्म हाम्रो पालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छैन । यसमा हामी जनप्रतिनिधि र कर्मचारीको सुझबुझपूर्ण कार्यव्रmम, कार्यान्वयन, बजेट पादर्शितापूर्ण वितरण गर्ने शैली नै हो भन्ने लाग्छ । जनप्रतिनिधि र कर्मचारीले पारदर्शी ढङ्गबाट काम गर्दा कुनै मुद्दा बेहोर्नु परेको छैन । यो नै मुख्य उपलब्धि हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर