नेभिगेसन मेनु

राष्ट्रपतिबाट आममाफी पाएका लोकबहादुर २५ दिनमै हत्यामा संलग्न
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-10-19 12:47

lokbahadur-bk2023-10-19-07-50-30

राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएको २५ दिनमै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ९ सिम्लीका ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले महिलाको हत्या गरेका छन् । विकले मंगलबार मुसीकोट नगरपालिका– ७ साँखकी २८ वर्षीया भावना विकको खलंगाको सत्कार होटेलमा हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले विकलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उनी बहुविवाहको मुद्दामा दोषी करार भएका र आधाभन्दा बढी कैद भुक्तान गरेपछि गत ३ असोजमा संविधान दिवसका अवसरमा कारागारमुक्त भएका थिए । उनी बहुविवाहको मुद्दामा दोषी करार हुँदै ११ महिनाका लागि कारागार चलान भएका थिए । तर, ६ महिना कैद भुक्तान गर्दै गत ३ असोजमा संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद सजाय मिनाहा भएपछि उनी रिहा भएका थिए । 

डिएसपी नमराज भट्टराई

उनीहरूबीचको कल डिटेल र होटेलमा कोठा लिँदा उल्लेख गरेको मोबाइल नम्बरबाट लोकबहादुरको घटनामा संलग्नता पुष्टि भएको हो । दुवैका बीचमा आर्थिक कारोबारसमेत भएको पाइएको छ । त्यसैका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आगामी १९ माघमा कैदमुक्त हुुनुपर्ने उनलाई सात महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएको थियो । कैद भुक्तान गर्न तीन महिना २३ दिन बाँकी रहँदै कैदमुक्त भएका लोकहादुरले कारागारबाट निस्केको २५ दिनपछि महिलाको हत्या गरेका हुन् ।

मंगलबार बिहान खलंगाको सत्कार होटेलको १ नम्बर कोठामा भावनाको शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा लोकबहादुरको संलग्नता खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । ‘उनीहरूबीचको कल डिटेल र होटेलमा कोठा लिँदा उल्लेख गरेको मोबाइल नम्बरबाट लोकबहादुरको घटनामा संलग्नता खुलेको हो,’ डिएसपी भट्टराईले भने ।

लोकबहादुरले भावनाको हत्या गरेको स्वीकार गरेको उनले जानकारी दिए । विवाद बढ्दै गएपछि भावनाको छातीमा प्रहार गरेको र उनी लडेपछि चक्कुले गला रेटेको उनले बयान दिएका छन् । चक्कुसमेत साथैमा रहेका कारण हत्या पूर्वयोजनाअनुसार नै भएको देखिएको डिएसपी भट्टराईको भनाइ थियो । प्रहरीका अनुसार भावना र लोकबहादुर २८ असोजमा होटेलको कोठा लिएर बसेको र २९ गते बिहान १० देखि ११ बजेको बीचमा हत्या घटना भएको देखिएको छ । लोकबहादुर साढे ११ बजे होटेलबाट निस्किएर बाल मन्दिर हुँदै कालिकास्थानबाट बाहिरिएको सिसिटिभी फुटेजबाट देखिएको प्रहरीले जनाएको छ । भावनाले होटेलमा कोठा लिएको र त्यसमा आफ्नो श्रीमान् भनी विकास केसीको नाम उल्लेख गरेको, तर नम्बर भने लोकबहादुरको राखेकी थिइन् । नाम झुटो लेखे पनि मोबाइल नम्बर भने सत्य उल्लेख गरेको डिएसपी भट्टराईले बताए ।

म्यादी प्रहरी हुँदा भएको थियो चिनजान 

लोकबहादुर र भावनाबीच गत स्थानीय तह निर्वाचनका क्रममा चिनजान भएको पाइएको छ । ०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनका क्रममा भावना म्यादी प्रहरी भएको र प्रहरी चौकी सिम्लीमा खटिएका वेला चिनजान भएको र त्यसपछि सम्बन्ध सुरु भएको भेटिएको डिएसपी भट्टराईले जानकारी दिए । ‘म्यादी भएका वेला भावनाले लोकबहादुरको होटेलमा खाना खाने गरेको र त्यसपछि चिनजान भएको देखिन्छ,’ उनले भने ।

लोकबहादुर र भावनाबीच अवैध सम्बन्ध रहेको र आर्थिक कारोबारसमेत रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । ‘कल डिटेल र अन्य कुरा हेर्ने हो भने उनीहरूका बीचमा अवैध सम्बन्ध पुष्टि हुन्छ । दुवैका बीचमा आर्थिक कारोबारसमेत भएको पाइएको छ । त्यसैका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी भट्टराईले भने ।’ भावनाले डिग्रे मन्दिरमा गएर विवाह गरौँ भनेपछि आवेगमा आएर आफूले हत्या गरेको लोकबहादुरले बयान दिएको भट्टराईले बताए । लोकबहादुरले भावनालाई उनका श्रीमान् विदेश जाँदा पाँच लाख रुपैयाँ सापटी दिएकोसमेत पाइएको छ । भावना र लोकबहादुरका बीचमा कारागारमै समेत भेट भएको प्रहरीले जनाएको छ । भावना लोकबहादुरलाई भेट्न दुईपटक जिल्ला कारागार पुगेको पाइएको डिएसपी भट्टराईले बताए ।

प्रहरीले घटनास्थलबाट रगतजस्तो पदार्थ लागेको चक्कु एक थान, डस्बिनबाट चक्कुको खोल एक थान, होटेलको इन्ट्री किताबमा दर्ता गरिएको नम्बर प्रयोग भएको मोबाइल र लोकबहादुरको घरबाट ८५ हजार आठ सय ३५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । घटनाको दिन पीडितसँग पैसा रहेको देखिएको भट्टराईले बताए । पीडित परिवारबाट आएको किटानी जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दा शीर्षकमा अनुसन्धान चलिरहेको डिएसपी भट्टराईले जानकारी दिए । घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश केनाइन बाँकेबाट तालिमप्राप्त कुकुरसहितको टोली ल्याइएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर