नेभिगेसन मेनु

बन्ने भयो हात्तीमारामा पुल
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-18 13:44

Untitled-1

बर्दिबास,कात्तिक १ गते । बर्दिबास नगरपालिकाको वडा नं. ३ र ४ जोड्ने हात्तीमारा खोलामा पक्की पुल निर्माण हुने भएको छ । बर्दिबासलाई दुर्गम भेग जोड्ने ग्रामीण सडक अन्तर्गत हात्तीमारा पुलको नगर प्रमुख प्रह्लाद क्षेत्री, वडाध्यक्षहरू विराट विष्ट र विजयकुमार महतोले मङ्गलबार वैदिक रीतिपूर्वक शिलान्यास गर्नुभएको हो । 

बर्दिबास नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण हुने ३५ मिटर लम्बाइ र छ मिटर चौडाइको यो पुलमा चार वटा पिलर हुनेछ । पुल निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको हो । यसका लागि सुरुमा ९० लाख रुपियाँ विनियोजनको तयारी गरेको नगरपालिकाले जनाएको छ । 

हात्तीमारामा पुल नहुँदा बर्दिबास नगरको सुदूर उत्तरी चुरे भेगका वडा नं. ३ र ४ का एक दर्जन गाउँका अनेकन पीडा छन् । यो खोलामा बाढी आउँदा तर्नै सकिँदैन । खोला सुक्दा भासिने बालुवाका कारण आकस्मिक सेवाका एम्बुलेन्स पनि गाउँमा आउन सक्दैन । खोलाले गर्दा यो भेगमा यातायात पनि चल्न सक्दैन । यही कारण खोला पारिका कतिपयले अकालमा ज्यान गुमाउनुपरेको गाउँलेको भनाइ छ । 

राइमण्डल भवसी गाउँका केशरबहादुर गुर्मछानेका अनुसार दुई वर्षअघि गाउँमा चार वर्षीय बालकलाई वर्षाको बेला सर्पले टोक्यो । उपचारका लागि झाेलुङ्गोमा बोकेर १० किमी टाढा पर्ने बर्दीबासतिर ल्याउँदा यही खोलामा बाढी आएकाले तर्न सकिएन । बाढी घट्ने प्रतीक्षा गर्दा खोला किनारमै बालकको प्राण गएको उहाँले बताउनुभयो । “खोलो नआएको भए त्यो नानी बाँच्ने थियो । बाढी घट्ला भन्दाभन्दै झुलुङ्गोमै ज्यान गयो,” उहाँले घटना सुुनाउनुभयो ।  

छिमेकी गाउँ रातमाटाकी ४० वर्षीया मीना पोखरेल यही खोलाका कारण आफ्नी आमाजस्ती सासूको अकालमा मृत्यु भएको बताउनुभयो । पखाला लागेकी उहाँकी सासूलाई लुगाको झाेलुङ्गोमा बोकेर उपचारका लागि बर्दिबासतिर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । “पुल भएको भए सामान्य बिमारीबाट ज्यान जाने थिएन होला” पुल बन्ने खबरले शिलान्यास स्थल पुग्नुभएकी मीनाले भावना पोख्नुभयो, “यो पुल हामी गाउँलेको सपना हो ।” 

जनताको यही सपना साकार पार्न बर्दिबास नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट पुल निर्माण गर्न लागेको नगरप्रमुख क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार केन्द्रले सहयोग रकम घटाउँदै लगेकाले नगरपालिकासँग बजेट कम छ । गत आवकोे तुलनामा यस आवमा १७ करोड रुपियाँ बजेट कम आएकाले जनताको सबै आवश्यकता पूरा गर्न कठिन भएको उहाँले जानकारी गराउनुभयो । “फेरि पनि हामीले गाउँलेको समस्या र आवश्यकताको आधारमा विकास निर्माण गर्ने लक्ष्य अनुसार नगरपालिकाको आन्तरिक स्रोतबाट यो पुल निर्माण गर्न लागेका हौँ,” उहाँले भन्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर