नेभिगेसन मेनु

गाउँपालिकाको समग्र विकासमा केन्द्रित छु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-29 13:30

Untitled-1 (5)

पर्सा जिल्लाको पश्चिम भागमा पर्ने जगरनाथपुर गाउँपालिका पिछडिएको दुर्गम क्षेत्रका रूपमा परिचित छ । दुईतर्फ भारतीय सिमाना र अन्य छ वटा पालिकासँग सीमा जोडिएको यो गाउँपालिका भौतिक पूर्वाधार, कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य, विद्युत्लगायतका विकास निर्माणको काममा पछाडि छ । यसले गर्दा यस गाउँपालिकालाई सुगम भएर पनि दुर्गम क्षेत्रका रूपमा पनि लिने गरिएको छ ।

पाँच वर्षभित्र सुगम गाउँपालिकाका रूपमा विकसित गर्ने अठोटका साथ कार्ययोजना बनाई गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादव विकास निर्माणमा होमिनुभएको छ । गाउँपालिकालाई सुन्दर, समृद्ध र विकसित बनाउन प्रतिबद्ध रहेको बताउनुुहुने गाउँपालिकाका अध्यक्ष यादवसँग गोरखापत्रका पर्सा समाचारदाता कन्हैयालाल केशरीले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ : 

निर्वाचनको समयमा मतदातासँग गरिएको प्रतिबद्धता कत्तिको पूरा गर्नुभयो ? 

म निर्वाचित भएर आएपछि विकास निर्माणलगायतका काम अति सुस्त थियो । शून्यबाट विकास निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छु । निर्वाचनपछिको झन्डै डेढ वर्षको कार्यकालमा निर्वाचनताका गरिएको प्रतिबद्धता अनुरूप मतदातालाई अनुभूति हुने गरी कृषि, वन, सिँचाइ, विद्युत्, शिक्षा, स्वास्थ्य, सडक, नाला जस्ता विकास निर्माणको कामलाई अगाडि बढाएको छु । गाउँपालिकामा परिवर्तन हुने गरी आउँदो पाँच वर्षभित्र चौतर्फी विकासका योजनाहरू कार्यान्वयन गर्न प्रतिबद्ध छु । 

तपाईंले गरेको मुख्य काम के हो, जसले तपाईंप्रति मतदाताको आकर्षण बढोस् ? 

शिक्षा र स्वास्थ्यको क्षेत्रमा यो गाउँपालिका निकै पछाडि परेको छ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर राष्ट्रपति शौक्षिक सुधार कार्यव्रmम अन्तर्गतको बजेटबाट विभिन्न विद्यालयमा २८ वटा कोठा थपिएको छ । यस्तै २५ विद्यालयमध्ये १९ विद्यालयमा शौचालयको व्यवस्था गरी पर्खाल लगाउने काम सम्पन्न भएको र सञ्चालन हुन नसकेका केही विद्यालय सञ्चालनमा आएका छन् । विपन्न र स्वास्थ्यमा सुलभ पहुँच नभएका जनताका लागि प्राथमिक उपचार, निःशुल्क स्वास्थ्य सेवा, प्रयोगशाला र महिलाका लागि बर्थिङ सेन्टरको स्थापना गाउँपालिकाभित्रै गरिएको छ । कृषकका लागि कृषि कार्यमा प्रयोग हुने उन्नत प्रकारको उपकरण वितरण, वनको क्षेत्रमा १० बिघा ऐलानी पर्ती जग्गामा वृक्षरोपण गरी तारबार लगाइएको छ । बाटो फराकिलो गरी नालासहितको बाटो निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । 

आन्तरिक स्रोतसाधन के के छन् र त्यसको परिचालनबाट गाउँपालिकालाई कत्तिको आर्थिक लाभ भइरहेको छ ? 

जगरनाथपुर गाउँपालिकाको आफ्नै कुनै ठोस आयस्रोत नभएकाले सङ्घीय र प्रदेश सरकारबाट आएको बजेटमा आश्रित भई विकास निर्माणको काम गर्नुपर्दा निकै समस्या आउने गरे पनि विकास निर्माणका काम प्रभावित नहोस् भन्ने उद्देश्यका साथ काम भइरहेको छ । मतदातालाई थप व्ययभार नपर्ने गरी आयआर्जन र आफ्नै आयस्रोतको विकास होस् भन्ने दृष्टिकोणले आयआर्जनका उपायहरूको खोजी कार्यमा गाउँपालिका जुटेको छ । आयस्रोत नभएको र विकसित नभएको पालिकालाई सङ्घीय र प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने हो । त्यसका लागि मेरो आग्रह पनि छ । 

सङ्घीय र प्रदेश सरकारबाट के कस्तो सहयोग पाउनुभएको छ र त्यसको उपयोग कसरी गरिरहनुभएको छ ? 

सङ्घीय र प्रदेश सरकारले गाउँपालिकाहरूलाई नियमित रूपमा विनियोजन गरेको बजेटबाहेक अन्य थप केही पनि नपाएकाले सोही बजेटभित्र रही गाउँपालिकाका सबै छ वटा वडाको विकास निर्माण, भौतिक पूर्वाधारलगायतका काम अगाडि बढाउन प्रयासरत छु । 

यसै गाउँपालिकाको मसिहानीका रमेश रिजाल निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई अहिले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुनुहुन्छ, उहाँबाट तपाईंले कस्तो सहयोग पाइरहनुभएको छ ? 

मन्त्री रिजालको जन्मस्थल यसै गाउँपालिकाको मसिहानी हो । आफ्नै जन्मभूमि र कर्मस्थल तथा गाउँपालिकाका लागि केही नगर्ने कुरा नै हुँदैन । उहाँले आफूबाट हुन सक्ने सबै प्रकारका सहयोग गरिरहनुभएको छ । उहाँकै सहयोग र पहलमा औद्योगिक ग्राम स्थापना गरी रोजगारी सिर्जना कार्यको थालनी भइसकेको छ । पशुपालन र कृषिलाई आधुनिकीकरण गर्ने काम अगाडि बढेको छ । आफूसँग हुन नसक्ने कामका लागि अन्य निकायसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वन, कृषि क्षेत्रलाई ठोस र उपलब्धिमूलक बनाउन सव्रिmयतासाथ लागिरहनुभएको छ । उहाँ क्षेत्रको मात्र नभई जिल्ला र नेपाली कांग्रेसभित्र शालीन नेताका रूपमा स्थापित हुनुहुन्छ । त्यसको लाभ पर्सा जिल्लावासीले प्रत्यक्ष र अपत्यक्ष रूपमा पाइरहेका छन् । 

आउँदा दिनमा के के काम गर्ने योजना बनाउनुभएको छ त ? 

मेरो कार्यकालको झन्डै डेढ वर्ष बितिसक्यो । अबको साढे तीन वर्षमा मतदातासँग निर्वाचनको समयमा गरेको प्रतिबद्धता पूरा गर्नेतर्फ केन्द्रित भई कार्ययोजना बनाएर कार्य गरिरहेको छु । मैले आफ्नै कार्यकालमा प्रतिबद्धता पूरा गर्न पाए ठुलो उपलब्धि हुने थियो । अनावश्यक र झुटा आश्वासन दिनुभन्दा पनि जे जति काम गरिन्छ, गाउँपालिकाको समग्र विकासका लागि गरिन्छ । जनताको चाहना र भावनाबमोजिम यो गाउँपालिकालाई समृद्ध, सुन्दर बनाउँदै आधारभूत आवश्यकता परिपूर्तिका लागि निरन्तर प्रयासरत रहने छु । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर