नेभिगेसन मेनु

पेट्रोलियम अध्ययन : सडक फराकिलो पारिने
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-04 12:37

Untitled-1 (1)

सुर्खेत, असोज १७ गते । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बाङ्गेसिमलदेखि दैलेखको साङ्गेतडासम्मका साँघुरा मोड फराकिलो बनाइने भएको छ। पेट्रोलियम पदार्थ अन्वेषणका लागि ठुला उपकरण ल्याउनुपर्ने भएपछि मोड सुधार गर्न लागिएको हो। सरकारले अन्तिम चरणको पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरेको छ।

सडक साँघुरो हुँदा उपकरणसहितका ठुला गाडी ल्याउन समस्या हुने भएकाले सडक फराकिलो पार्न लागिएको जनाइएको छ। कर्णाली राजमार्गका धेरै घुम्ती साँघुरो भएकाले सवारीसाधन चलाउन गाह्रो हुने गरेको छ। सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले कर्णाली राजमार्गमा रहेका साँघुरा मोड सुधार गर्ने भएको हो। मोड सुधारका लागि कार्यालयले गङ्गामाला बडीमालिका एमएम जेभीसँग ठेक्का सम्झौता गरेको छ । अबको एक हप्तामा काम सुरु गर्ने गरी प्रक्रिया अघि बढाइएको कार्यालयका इन्जिनियर अशोक चौधरीले जानकारी दिनुभयो । भदौ २७ गते ठेक्का आह्वान गरेको कार्यालयले साइट सर्भेको काम सम्पन्न गरेर असोज १० गते ठेक्का सम्झौता गरेको हो । तीन करोड ८५ लाखमा ठेक्का सम्झौता भएको छ । सम्झौता अनुसार छ महिनाभित्रमा मोड सुधारका काम सम्पन्न गर्नुपर्ने छ ।

पेट्रोलियम पदार्थ अन्वेषण आयोजनाले बाङ्गेसिमलदेखि साङ्गेतडासम्मका मोडमा सर्भे गरिसकेको छ। १७ स्थानमा मोड सुधार गर्नुपर्ने देखिएको छ। आयोजनाले अध्ययन गरेका स्थानमा सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले फेरि सर्भे गरेको थियो। के कति कटिङ गर्ने, कति मोड सुधार गर्नेलगायतका सर्भे भएका छन्। सम्झौता अनुसार कर्णाली राजमार्गको ८५ किलोमिटर सडक हुँदै उपकरण ल्याउने ठाउँका मोडहरू सुधार गरिने छ । उपकरण ल्याउँदा आवश्यक परे अन्य स्थानमा समेत मोड सुधार गरिने जनाइएको छ ।

जलजलेमा चिनियाँ क्याम्प

अन्तिम चरणको पेट्रोलियम पदार्थ अन्वेषण गर्नका लागि चिनियाँ कम्पनीले जलजलेमा क्याम्प निर्माण गर्ने भएको छ। सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरेको छ। मुआब्जा विवाद समाधान भएसँगै साइट निर्माणका काम थालिएको पेट्रोलियम पदार्थ अन्वेषण आयोजना प्रमुख दिनेश नापितले जानकारी दिनुभयो। उहाँका अनुसार अन्तिम चरणको अन्वेषणका लागि चिनियाँ टोली नेपाल आइसकेको छ ।

पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको श्रीस्थान, नाभिस्थानलगायतका क्षेत्रमा अन्वेषणका लागि भैरवी गाउँपालिका–१ स्थित जलजलेमा क्याम्प निर्माण गरेर काम अघि बढाइने छ। नेपाल र चीनबिच भएको सम्झौता अनुसार अन्तिम चरणको अन्वेषणको काम हुन लागेको हो। यसअघि दुई चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको आयोजना प्रमुख नापितले बताउनुभयो। उहाँका अनुसार तेस्रो चरण अन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइने छ । चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लाग्ने छ । उहाँले भन्नुभयो, “अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ पछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्ने छ । त्यसैका आधारमा उत्खनन योजना अघि बढ्ने छ ।”

फागुनभित्रै ड्रिलिङ गरिसक्नुपर्ने भएकाले एक हप्तामा मुआब्जा वितरण गरिसक्ने उहाँले जानकारी दिनुभयो। दैलेखमा २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गतको अन्तिम चरणको कामको सम्झौता यही फागुनमा सकिँदै छ। अहिले जग्गा अधिग्रहण, सडकको स्तरोन्नतिलगायतका काम अघि बढेकाले चीन सरकारको अन्वेषणात्मक टोली दैलेख आएर अन्वेषणात्क ड्रिलिङको काम सुरु गर्ने छ । साइट निर्माणको काम भने तत्काल सुरु हुने भएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर