नेभिगेसन मेनु

जनता माविमा प्राविधिक विषयको अध्यापन हुने
सम्पादक:南亚网络电视
समय:2023-09-30 19:38

ण

सिद्धार्थनगर, असोज १३ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ तुनधुरास्थित जनता माध्यमिक विद्यालयमा भवन निर्माणसम्बन्धी प्राविधिक विषयको पढाइ हुनेभएको छ । 

जनता माविले पत्रकार सम्मेलनगरी प्राविधिक शिक्षालाई जनस्तरमा पुगाउन भवन निर्माणसम्बन्धी नयाँ कोर्स सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीइभीटी) बाट मान्यताप्राप्त २४ महिने निःशुल्क औद्योगिक प्रशिक्षण तालिम विषयको कोर्स सबओभरसियर बराबर मान्यता प्राप्त रहेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक प्रचण्ड जीसीले कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी यो कोर्स सुरु गर्न लागिएको बताउनुभयो । यस कोर्सले दक्ष जनशक्ति उत्पादन हुनुका साथै शतप्रतिशत रोजगार हुने उहाँको भनाइ छ ।

प्रधानाध्यापक जीसीका अनुसार २० जनाको कोटा रहेको सो तालिममा सहभागी हुन पूर्ण रूपमा निःशुल्क गरिएको छ । अध्ययन सुरु भएपछि विद्यार्थीलाई हरेक दिन विद्यालयले १०० रुपियाँ प्रदान गर्ने उहाँले जानकारी दिनुभयो ।

‘यो विषय लुम्बिनी प्रदेश सरकारको स्वीकृत बजेटअनुसारको निःशुल्क कार्यक्रम हो’ जीसीले विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, ‘यो विषय पढ्ने विद्यार्थीले विद्यालय र उद्योग दुवैमा सीप सिक्नुका साथै पढ्दै आयआर्जन गर्न सकिन्छ, यसक्षेत्रमा हामीले यो कोर्ष चलाउँदैछौँ ।’

प्रधानाध्यापक जीसीका अनुसार यो विषयको अध्ययन पूरा गरेपछि विद्यार्थीलाई प्रि–डिप्लोमाको प्रमाणपत्रसमेत प्रदान गरिनेछ । यो विषयमा लुम्बिनी प्रदेशका १२  जिल्लाका १५ विद्यालयले मात्र पठनपाठनको अनुमति पाएका छन् । माध्यमिक शिक्षा परीक्षा एसइईमा जुनसुकै प्रतिशत र ग्रेडबाट उत्तीर्ण भएका १६ देखि ४० वर्ष उमेर समूहका विद्यार्थीले यो विषय अध्ययन गर्न पाउने छन् ।

तिलोत्तमा–१३ का वडाध्यक्ष नारायण ढकालले अबको शिक्षा प्राविधिक हुनुपर्ने भन्दै औद्योगिक तालिम कार्यक्रमको रुपन्देहीका विद्यार्थीले उपयोग गर्नुपर्ने बताउनुभयो । विद्यालयले २०७५ देखि प्राविधिक विषय भित्र्याउन सुरु गरेको थियो ।

उद्योगमा काम गर्दा पनि विद्यार्थीलाई मासिक न्यूनतम ४ हजार ५ सय रुपियाँ दिनुपर्ने व्यवस्था मिलाइने विद्यालयले जनाएको छ । निःशुल्क अध्ययन गर्न पाउने भएपछि विद्यार्थी उत्साहित भएको विद्यालयको भनाइ छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर