नेभिगेसन मेनु

डाक्टर नहुँदा सास्ती
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-12 13:14

Untitled-1 (1)

भदौ २६ गते । गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा परेका छन्। यस अस्पतालमा पन्ध्र जना विशेषज्ञ चिकित्सक (डाक्टर) सहितको दरबन्दी रहेको छ। केही हप्ताअघि यस अस्पतालमा उपचारत सात वर्षीय बालिकाको मृत्यु भएपछि उत्पन्न विवादले अस्पताल प्रमुख डा. राजेन्द्र जिसी सरुवा भएपश्चात् अस्पताल कार्यालय प्रमुखविहीन भएको छ। 

दरबन्दी अनुसारको डाक्टरहरू नहुँदा अस्पतालमा छात्रवृत्ति करारमा रहेका आठ जना डाक्टरमध्ये केही बिदामा, केही तालिम रहेका कारण अस्पतालमा अहिले बिरामीले सहज रूपमा उपचार पाउन सकेका छैनन्।

कुनै बेला राम्रो उपचार हुने यो अस्पतालमा अहिले सामान्य उपचार पनि पाउन नसक्ने अवस्था छ। बिरामीहरू निजी क्लिनिक र जिल्लाबाहिरका अस्पतालहरूमा जान बाध्य भएको स्थानीय सुमित्रादेवी पाण्डेले गुनासो गर्नुभयो। छिमेकी जिल्ला अर्घखाँचीबाट अस्पतालमा सेवा लिन आउनुभएका फर्सुराम पाण्डेले पनि जनशक्ति अभावमा उपचार पाउन समस्या भएको भन्दै तत्काल समस्याको समाधान गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

अस्पतालमा बिरामीहरूले सहज रूपमा उपचार पाउन नसकेको देखेपछि सरोकारवालालाई फोन गरेर बिरामीहरूले सहज रूपमा उपचार पाउने गरी व्यवस्था मिलाउन अनुरोध गरेको रेडियो रेसुङ्गाकी स्टेसन म्यानेजर अनिता खत्रीले बताउनुभयो।

गुल्मी अस्पतालका अध्यक्ष गोपाल पाण्डेले अस्पतालमा जनशक्ति अभाव भएको स्वीकार गर्दै आवश्यक जनशक्ति व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभयो। जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले पछिल्लो समय गुल्मी अस्पतालमा डाक्टरहरूको अभाव हुँदा बिरामीहरूले सहज रूपमा उपचार पाउन नसकेका स्विकार्नुभयो। यस समस्याको समाधान गर्न आफूले समन्वय गरिरहेको उहाँले बताउनुभयो। यता लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले गुल्मी अस्पतालको समस्यालाई समाधान गर्ने प्रयास जारी रहेको बताउनुभयो। 

तत्कालका लागि समस्या समाधान गर्न दरबन्दी करारबाट पूर्ति गर्ने र दीर्घकालीन समस्या समाधान गर्नका लागि प्रदेश लोकसेवाबाट पदपूर्तिको तयारी भइरहेको भनाइ उहाँको छ। डाक्टरहरूको सङ्ख्या पनि कम भएको र त्यसैमा पनि पहाडमा जान नखोज्नु अर्को रोग भएको पन्थीले बताउनुभयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर