मकवानपुरको बागमती गाउँपालिका- ५ सिक्रे दोभान पहिरोमा परी हराइरहेका पाँचजनामध्ये दुईजना बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले बिहान खोजतलास गर्ने क्रममा सवा नौ बजे बागमती नदीको बीचबगरमा दुईजनाको शव फेला परेको जानकारी दिए।
सिन्धुली हरिहरपुरगढी गाउँपालिका- १ कोकरेस्थित नदीको बीचबगरमा एक पुरुष र एक महिलाको शव फेला परेको प्रवक्ता कार्कीले जानकारी दिए । उनका अनुसार फेला पर्नेमा घरधनी अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षकी शिला पहरी रहेका छन् । उनीहरूको शव फेला परेको स्थान घटनास्थलबाट करिब १० किलोमिटर दक्षिणमा रहेको छ ।
मंगलबार बिहान आएको पहिरोले अक्कलबहादुरको घरसहित सातजनालाई बगाएको थियो । पहिरोमा परी हराएका सातजनामध्ये अक्कलबहादुरकी श्रीमती शान्तिमाया स्याङ्तानको उद्धारपछि उपचारको क्रममा मृत्यु भएको थियो भने सिन्धुलीको हरिहरपुर गाउँपालिका- १ का पासाङ घिसिङको १२ घन्टापछि जीवितै उद्धार गरिएको थियो । उनको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोमा परी अझै तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्याङ्तानका ज्वाइँ २५ वर्षका जीवन पहरी, नाति ४ वर्षका मिलन पहरी र नातिनी डेढ वर्षकी दिव्या पहरी रहेका छन् ।