नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहने छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।
राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार उम्मेदवार निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । ५० प्रतिशत मत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् । मतदान स्थलमा प्रज्वलनशील पदार्थ, हातहतियार, मोबाइल र क्यामेरा निषेध गरिएको छ । मतदानका लागि महिला र पुरुषको छुट्टै लाइनको व्यवस्था गरिएको छ ।
मतदान सकिएलगत्तै आवश्यक प्रकृया पुरा गरेर आजै मतगणना सुरु गरिने छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ ।