नेभिगेसन मेनु

सन्दीप र रोहितले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालको ठूलो जित
समय:2021-09-12 03:55

नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ। शुक्रबार भएको दोस्रो खेलमा पीएनजीलाई १ सय ५१ रनले हराउँदै नेपालले सिरिज २-० ले आफ्नो बनाएको हो।

पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटको जित निकालेको थियो। नेपालको यो एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक धेरै रन अन्तरको जित हो।

यसअघि नेपालले २०१९ मा यूएईविरुद्ध १ सय ४५ रनको जित निकालेको थियो। नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर १ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो।

ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीका लागि टोनी उराले सर्वाधिक १९ रन बनाए। नेपाली बलर चम्किएको खेलमा पीएनजीका चार्ल्स अमिनीले १६, नोर्मन भानुवाले १२ तथा सेसे बाउले ११ रन बनाए। 

गौडी टोका १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए। लेग स्पिनर सन्दीपले मात्र ११ रन खर्चिए। सन्दीपको यो करियरकै उत्कृष्ट बलिङ हो। यसअघि सन्दीपको ६ विकेट १६ रन उत्कृष्ट बलिङ फिगर रहेको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले ८६ रनको अर्धशतकीय इनिङ्स खेले। रोहितले १ सय २३ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो दोस्रो अर्धशतक हो।

रोहितलाई राम्रो साथ दिएका अलराउण्डर करण केसीले ४२ रन बनाए। उनले २६ बलमा उक्त रन बनाएका हुन्। उनले २ चौका र ४ छक्का प्रहार गरे। तल्लो क्रममा ब्याट्सम्यान खासै चल्न सकेनन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर