एस् ए टी भी ०२ मंसिर, काठ्माण्डौंः नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउन, बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव २४ डिसेम्बर, २०२४ देखि सुरु हुंदैछ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गर्न लागिएको आयोजकले काठ्माण्डौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिए।
पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक यो महोत्सव आयोजना गर्दैछ । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुनहरू पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुग्ने आयोजकको अनुमान छ। यस महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्नेछ ।
फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुनेछ ।
४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खला सहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिनेछ । यसका साथै सूर्योदय र सूर्यास्तका दृश्य पर्यटकहरूको लागि प्रमुख आकर्षण हुन सक्छ। यसलाई भव्य बनाउँदै, हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ् पनि आयोजना हुनेछ ।
महोत्सव अवधिभर पोखराका स्थानीय सांगितिक ब्याण्डका साथै दिपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वपः ब्याण्ड जस्ता शीर्ष नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति पनि दैनिक रुपमा हुनेछन् ।
नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा क्यारिज्म्याटिक डिजिटल सोलुसनले महोत्सवको व्यवस्थापन गरेको छ । यो फेस्टिबलको संयुक्त आयोजकको रूपमा पोखरा पर्यटन काउन्सिल पनि रहेको छ । कार्यक्रमको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।