नेभिगेसन मेनु

पहिलो चरणमा भेटिएन खरमुजुर
सम्पादक:南亚网络电视
समय:2024-04-06 12:04

Khar-Mayur-ganana-suru

चैत २४ गते । सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलो चरणको खरमुजुर गणना कार्य सकिएको छ । 

अतिसङ्कटापन्न खरमुजुरको सङ्ख्या, अवस्थालगायतको बारेमा अध्ययन गर्ने उद्देश्यका साथ चैत १४ गतेबाट पहिलो चरणको गणना कार्य सुरु गरिएको थियो । पहिलो चरणको गणनाको क्रममा घाँसेमैदानमा खरमुजुर नदेखिएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । 

पहिलो चरणमा ‘स्विप’ विधि अपनाएर दुई चोटि घाँसेमैदानमा स्विप गरिएको थियो तर स्विप गरिएको फाँटमा खरमुजुर नभेटिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो । “खरमुजुरको सङ्ख्यामा थोरै तर घाँसेमैदान क्षेत्र ठुलो छ,” उहाँले भन्नुभयो, “हामीले गणनाका लागि छनोट गरेको क्षेत्र ठुलो तर जनशक्ति सीमित भएकाले फेला नपरेको हो ।”

पहिलो चरणको गणनाको क्रममा खरमुजुर फेला नपरेपछि फेरि दोस्रो चरणको गणना गरिने जनाइएको छ । अप्रिल १५ बाट दोस्रो चरणको गणना सुरु हुने ऐरले बताउनुभयो । सन् २०२३ मा गणना गर्दा यो निकुञ्जमा पाँच वटा खरमुजुर भेटिएका थिए । यसै गरी सन् २०२१ मा सात वटा खरमुजुर फेला परेको अभिलेख छ । 

यसअघि खरमुजुर देखिएका शुक्लाफाँटा किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रको घाँसेमैदानलगायतमा खरमुजुरको खोजी गरिएको थियो । विगतमा करैयाफाँटा, मोहनपुरफाँटामा पनि खरमुजुर देखिएको अभिलेख छ । विगतमा देखिएका घाँसेमैदानमा खरमुजुरको खोजी गरिएको हो । कम देखिने र कम सङ्ख्या भएका चराको खोजी लामो समयसम्म गर्न आवश्यक रहेको सूचना अधिकारी ऐरले बताउनुभयो । “जति लामो समयसम्म अध्ययन त्यति राम्रो,” उहाँले भन्नुभयो, “अहिले त हामीले दुई चोटिमात्रै स्विप गरेको हो ।” क्यामेरा ट्यापिङ विधिबाट गणना गर्ने कार्य अझै बाँकी रहेको जनाइएको छ । 

वसन्त ऋतु खरमुजुरको प्रजनन याम हो । यो बेला भाले खरमुजुर घाँसेमैदानमा २०, ३० मिटरमाथि उफ्रेर नाच्ने गरेको जनाइएको छ । प्रजननका लागि पोथीलाई आकर्षित गर्न भाले त्यसरी उफ्रिँदा खरमजुजुर फेला पार्न सहज हुने गरेको जनाइएको छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले वार्षिक रूपमा खरमुजुरको गणना गर्दै आएको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर