नेभिगेसन मेनु

गुणस्तरीय शिक्षामा अब्बल सिद्धबाबा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-27 13:31

IMG-20240224-WA0077

फागुन १५ गते । गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको रुपमा परिचित छ । रेसुङ्गा नगरपालिका–८, (तत्कालीन तम्घास गाउँपञ्चायत) खानीगाउँ टुनिखोलामा रहेको सानो बचत घरबाट २०४३ सालमा औपचारिक रुपमा यस विद्यालयको सुरुवात भएको थियो ।

विद्यालय स्थापनाका लागि समुदायको अग्रसरतालाई भर्खर भारतीय सेनाबाट अवकास प्राप्त स्थानीय तिलबहादुर थापाले नेतृत्व लिनुभयो । विद्यालय स्थापनाको क्रममा केही विद्यार्थी र दुई जना शिक्षकबाट शैक्षिक यात्रा सुरु गरेको यो विद्यालय यहाँका समुदायद्वारा तम्घासमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि स्थापना गरिएको थियो । 

यस विद्यालयमा २०४९ सालमा कक्षा ६ सुरु गरिएको थियो । विद्यालयले प्रदान गर्ने शिक्षामा गुणस्तर बढ्दै गएपछि समुदायमा माध्यमिक तह स्थापनाका लागि निकै उत्साह देखियो । पछि २०५४ सालमा माध्यमिक तह स्थापना भयो । सबै मिलेर विद्यालयको सहयोगका लागि घरदैलो गर्ने, भैलो खेल्नेलगायतका विभिन्न कार्यक्रम भएको थियो । 

“तत्कालीन समयमा विद्यालय नभएर होइन, समुदायले खोजेको पढाइमा गुणस्तर दिनका लागि विद्यालय खोलेका हौं ।” संस्थापक प्रधानाध्यापक समेत रहनुभएका विद्यालय व्यवस्थापन समिति अध्यक्ष थापाले भन्नुभयो । २०५५ सालमा पहिलो पटक सिद्धबाबा माध्यमिक विद्यालयका विद्यार्थीले एसएलसी परिक्षामा सहभागी भए । 

प्रत्येक वर्षको एसएलसी परीक्षामा राम्रो नतिजा ल्याउँदै यस विद्यालय २०६० सालमा सामुदायिक विद्यालयतर्फ नेपालकै प्रथम बन्यो । प्रधानाध्यापक भएर २२ वर्ष काम गरि उहाँले हालका प्रधानाध्यापक डोरविक्रम श्रीसलाई विद्यालयको जिम्मेवारी दिनुभयो । रेसुङ्गा क्षेत्र सिद्धस्थानको क्षेत्र भएकाले पनि यस विद्यालयको नाम सिद्धबाबा राखिएको थापाको भनाइ छ । 

२०४९ सालमा शिक्षकका रुपमा प्रवेश गर्नुभएका प्रधानाध्यापक श्रीसले २०६६ सालमा विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी प्राप्त गर्नुभयो । विद्यालयले निरन्तर गुणस्तर शिक्षा प्रदान गर्दै गएपछि सरकारी निकायको विद्यालयप्रति ध्यान केन्द्रित भएको उहाँको भनाइ छ । अहिले करिब ६ रोपनी ११ आना जग्गामा विद्यालयका चार वटा पक्की भवनमा ५७ वटा कोठा छन् । जसबाट ११ वटा विषयगत ल्याब तथा  पुस्तकालय सञ्चालन गरिएको छ । 

यहाँका समुदायले शिक्षक कर्मचारीसँगै विद्यार्थीलाई हौसला प्रदान गर्दै आएको प्रधानाध्यापक श्रीसले बताउनुभयो । यस विद्यालय व्यवस्थापन समिति पनि विद्यालयका लागि निरन्तर खटिरहेको उहाँले बताउनुभयो । विद्यालयका शिक्षकहरु सूचना प्रविधिमैत्री भएको हुँदा हरेक कक्षामा सूचना प्रविधिको अधिकतम प्रयोग गरी पठनपाठन सञ्चालन गरिएको छ । 

सिकाइलाई अनुशासनले पनि प्रभाव पार्ने भन्दै विद्यालयमा अनुशासनलाई केन्द्रमा राखेर विद्यार्थी केन्द्रित क्रियाकलापलाई जोड दिएको उहाँले बताउनुभयो । २०६२ सालमा कक्षा १२ सुरु गरिएको यो विद्यालयमा हाल एक हजार ६३१ जना विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् । १०+२ लाई बिहानमा सञ्चालन गरिएको भन्दै विद्यार्थी सङ्ख्याका आधारमा सबै कक्षामा सेक्सन विभाजन गरी सरकारी पाठ्यक्रमका आधारमा शिक्षण सिकाइ क्रियाकलापलाई अगाडि बढाइएको छ । 

यस विद्यालयमा कक्षा ९ देखि साधारण र प्राविधिक धारको अध्यापन हुन्छ । प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ र साधारण धारतर्फ मानविकी, शिक्षा, व्यवस्थापन, कानुन, विज्ञान र होटल म्यानेजमेन्टको समेत पढाइ हुँदै आएको प्रधानाध्यापक श्रीसले बताउनुभयो । विद्यालयको शैक्षिक गुुणस्तरमात्रै नभई भौतिक संरचना उत्तिकै बालमैत्री छन् । विद्यालयमा हाल ६८ जना शिक्षक कर्मचारी कार्यरत रहेको उहाँले बताउनुभयो । 

विद्यालयले स्थापनाकालदेखि नै समुदाय, अभिभावक र विद्यार्थीहरुको मन जित्दै गएको छ । अभिभावक चन्द्रबहादुर जिसीले विद्यालयका प्रधानाध्यापकदेखि सिङ्गो विद्यालयको खटाइले नै विद्यालय अगाडि बढेको बताउनुभयो । उहाँले पर्याप्त खेलमैदान लगायत विभिन्न अभावका बीचमा पनि विद्यालय हरेक क्षेत्रमा आफुलाई अब्बल बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयले गुणस्तरमा कुनै पनि कमी हुन दिएको छैन । हरेक क्षेत्रमा विद्यालय प्रथम नै हुँदै आएको छ ।” 

विद्यार्थी केन्द्रित सिकाइले आफूहरूलाई नयाँ खोज र अध्ययनका लागि हौसला प्रदान गरिरहेको विद्यार्थीले ममता बुढाथोकीले बताउनुभयो । बुढाथोकी भन्नुहुन्छ, “म विपन्न परिवारकी विद्यार्थी हुँ । तर पनि विद्यालयले विभिन्न छात्रवृत्ति प्रदान गरी म जस्ता धेरै विद्यार्थीको अध्ययनलाई सहज बनाइदिएको छ ।” 

यस विद्यालयले दुई वटा स्कुल बस, आफ्नै चमेनागृह सुविधासम्पन्न कम्प्युटर ल्याब, विज्ञान ल्याब समेत सञ्चालन गरेको छ । यस विद्यालय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भएको छ । विद्यालयका लागि पर्याप्त जग्गा नहुँदा खरिदका लागि अहिले अभियान पनि सञ्चालन गरेको छ । यहाँ गुल्मीसहित बागलुङ, प्युठान, अर्घाखाँची र अन्य जिल्लाका विभिन्न स्थानबाट  विद्यार्थीहरु अध्ययनका लागि आएको विद्यालयले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर