नेभिगेसन मेनु

घोराही–लमही सडक: खाल्टाखुल्टी र धुलोले सास्ती
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-04 12:46

sadak1

माघ २१ गते । दाङको पूर्व–पश्चिम राजमार्गसँग जोडिएको प्रमुख सडक घोराही–लमही सडकखण्डमा पछिल्लो समय खाल्टाखुल्टी हुँदा दुर्घटनाको जोखिम बढेको छ । क्षमताभन्दा बढी भारवहन गर्ने सवारीसाधनका कारण सडकको अवस्था जीर्ण बन्दा दुर्घटनाको जोखिम बढाएको हो । 

घोराही–लमही सडकखण्डको बबई नदीदेखि बेल्दमारसम्म सडकका विभिन्न खण्डमा भएका खाल्टाखुल्टीका कारण सडक अस्तव्यस्तसँगै धुलोले गर्दा दुर्घटनाको जोखिम बढाएको हो । पछिल्लो समय सडकका घुम्तीहरूमा भएका खाल्टाखुल्टीसँगै धुलोका कारण सडकको अवस्था अस्तव्यस्त बन्न पुगेको छ । गाडी चालक नवीन शर्मा सडकमा भएका खाडल र धुलोका कारण साना सवारीसाधनलाई हैरानीसँगै दुर्घटनाको जोखिम बढाएको बताउनुहुन्छ । 

सडकको मर्मतसम्भार समयमै नहुँदा मुसोट खोलाको उकालोसँगै अन्य स्थानमा पनि कालोपत्रे उप्किएर घुम्तीमा खाडल र धुलैधुलो हुने गरेको उहाँले बताउनुभयो । उहाँले  भन्नुभयो, “सडकका घुम्तीमा भएका खाडल र धुलोका कारण दुई पाङ्ग्रे सवारीसाधन चलाउनै समस्या हुने गरेको छ । समयमै मर्मतसम्भार भए राम्रो हुन्थ्यो ।” सडकका घुम्तीमा खाल्टाखुल्टीले धुलैधुलो हुने र साना गाडी नदेखिँदा दुर्घटना हुने जोखिम बढेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “सडकमा भएका खाल्टाखुल्टी र धुलोका कारण अस्तव्यस्त बन्ने गरेको छ । जसले गर्दा अगाडि केही देखिँदैन । बिग्रिएको सडक समयमै बनाइदिए गाडी चलाउन सहजसँगै दुर्घटनाको जोखिम हट्ने थियो ।” सडक जीर्ण बन्दा ठुला सवारीका साधनभन्दा साना दुई पाङ्ग्रे सवारीसाधनलाई थप समस्या हुने गरेको छ । घोराही निवासी विशाल चौधरी समयमै गन्तव्यमा पुग्न साना सवारीसाधन उपयुक्त भए पनि सडकमा परेका खाल्टाखुल्टी र धुलोका कारण मोटरसाइकल र स्कुटी चलाउन समस्या हुने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “समयमै गन्तव्य पुग्नका लागि बसभन्दा साना दुई पाङ्ग्रे सवारीसाधन उपयुक्त हुन् तर सडकको अवस्था सम्झँदा मोटरसाइकल चलाउनै दिक्क लाग्छ । बिग्रिएको सडक समयमै मर्मत भइदिए सहज हुने थियो ।”  

सिमेन्ट उद्योगका टिप्पर र ट्रकसँगै मेसिन बोकेर आउने ठुला गाडीका कारण सडकको अवस्था बिग्रने गरेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर उज्ज्वलकुमार झाले घोराही–लमही सडकखण्डको अर्जुन खोलादेखि बेल्भारसम्मको सडक मर्मतका लागि गत असोज महिनामा ठेक्का सम्झौता भइसके पनि उपयुक्त मौसम नहुँदा मर्मत हुन नसकेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सडक मर्मतका लागि तापक्रम मिल्नु पर्छ तर अहिले चिसो मौसम भएकाले ठेक्का सम्झौता भइसके पनि निर्माण कम्पनीले काम गर्न सकेको छैन । चिसो मौसम हट्नेबित्तिकै सडक मर्मतको काम हुन्छ ।” सडकमा बर्सेनि भइरहने खाल्टाखुल्टी र धुलोको समस्या दीर्घकालीन रूपमा हटाउने गरी सडक डिभिजन कार्यालय दाङले ठेक्का सम्झौता गरेको र त्यसैको तयारीका लागि अहिले खाल्टाखुल्टीलाई त्यसै छोडिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सडकमा भएका ससाना खाल्टाखुल्टी सडक मर्मतकर्ताले पुर्नुपर्ने हो तर लगत्तै सडक मर्मतको काम निर्माण कम्पनीले गर्ने भएकाले अहिले पुरिएका छैनन् । जसले गर्दा केही ठाउँमा खाल्टाखुल्टी भएको र धुलो उड्ने समस्या भएको छ । खाल्टाखुल्टी पुर्दा मर्मतमा समस्या हुने भएकाले त्यसै छोडिएको हो ।” सूचना अधिकारी झाका अनुसार चालु आर्थिक वर्षभित्र सडक मर्मतको काम सक्ने गरी छ करोड ३२ लाख रुपियाँमा उज्ज्वल भिजन निर्माण जेभीसँग ठेक्का सम्झौता भएको र चिसो मौसम सकिनेबित्तिकै काम सुरु हुन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर