नेभिगेसन मेनु

सवा एघार लाखभन्दा बढीलाई खोप लगाइँदै
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-26 12:53

mantri-raju-khanal

फागुन १४ गते ।  लुम्बिनी प्रदेशमा दादुरा–रुबेला खोप अभियान–२०८०/८१ अन्तर्गत ११ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको घोराहीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा दादुरा–रुबेला खोप अभियान अन्तर्गत फागुन १३ देखि चैत ७ सम्म सञ्चालन हुने खोप अभियानका क्रममा प्रदेशका १२ जिल्लाका ११ लाख २१ हजार ६०७ बालबालिकालाई खोप लगाउन थालिएको जानकारी दिएको हो । 

अभियानका क्रममा नौ महिनादेखि पाँच वर्षमुनिका चार लाख ३३६ जना र पाँच वर्षदेखि १५ वर्षमुनिका सात लाख २१ हजार २७१ बालबालिका लक्षित रहेका लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशका पहाड तथा हिमाली क्षेत्रमा रहेका जिल्लाहरू रुकुमपूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची र पाल्पामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिका र तराईका नवलपरासीपश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने छ । खोपका लागि प्रदेशका विभिन्न जिल्लामा रहेका विद्यालयमा पाँच हजार ६४३ वटा खोप केन्द्र तोकिएको छ । बालबालिकालाई खोप लगाउन नौ हजार ९२७ स्वास्थ्यकर्मी र १५ हजार ५७० स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको खोप फोकल पर्सन थापाले बताउनुभयो । 

बितेको एक वर्षमा दाङसहित लुम्बिनी प्रदेशका तराईका जिल्लामा दादुरा सङ्क्रमित भेटिएकाले अहिले पनि जोखिम कायमै रहेको थापाले बताउनुभयो । उहाँका अनुसार २०७९ साल मङ्सिर ३ देखि २०८० पुस १५ सम्मको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका पाँच जिल्लामा ४७४ सङ्क्रमित भेटिएका थिए । तीमध्ये सबैभन्दा धेरै बाँके जिल्लामा ३३९ जना, बर्दियामा ७२, दाङमा ३९, कपिलवस्तुमा २३ र अर्घाखाँचीमा ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७४ प्रतिशत बालबालिका रहेका र तीमध्ये ५० प्रतिशतले दादुरा–रुबेलाविरुद्धको खोप नै नलगाएका पाइएकाले प्रदेशमा खोपको पहुँच बढाउन अहिले पनि चुनौती रहेको उहाँले बताउनुभयो । खोपको पहुँच बढाउन यो पटक वडाका जनप्रतिनिधिसँगै राजनीतिक दलका अगुवा, विद्यालयका प्रिन्सिपल, स्वास्थ्य स्वयंसेविका, समुदायका धर्मगुरुलगायतलाई राखेर अभिमुखीकरण गरिएकाले यो पटक खोपको ‘कभरेज’ दर बढ्ने आकलन गरिएको छ । तराईका जिल्लामा बाक्लो जनसङ्ख्यासँगै भारतीय खुला सीमाका कारण दादुरा–रुबेला सङ्क्रमणको जोखिम रहेकाले अनिवार्य रूपमा खोप अभियानमा सहभागी हुन लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले अनुरोध गर्नुभएको छ । 

कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले दादुरा–रुबेला सङ्क्रमणका दृष्टिले लुम्बिनी प्रदेशका दाङसहित तराईका जिल्ला जोखिममा रहेकाले सबै बालबालिकालाई समेट्ने गरी अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर