नेभिगेसन मेनु

कुष्ठरोगका चौबिस नयाँ बिरामी फेला
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-01 12:55

kustharog

माघ १८ गते । चालु आर्थिक वर्षको छ महिनामा कर्णालीमा कुष्ठरोगका २४ जना नयाँ बिरामी फेला परेका छन्। सुर्खेतस्थित साइनिङ अस्पताल आइएनएफमा आएकामध्ये २४ जना नयाँ बिरामी फेला परेका हुन्। 

नयाँ बिरामीमध्ये सुर्खेतका सात जना छन्। दैलेख र जाजरकोटका तीन/तीन, सल्यानका दुई, कालीकोटका एक, बाँके र अछामका एक/एक तथा बर्दिया र रुपन्देहीका दुई/दुई जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन्।  साइनिङ अस्पताल आइएनएफ सुर्खेतका कुष्ठरोग इन्चार्ज उदयनाथ योगीका अनुसार शङ्का लागेर जाँच गराउन आएकामध्ये २४ जना नयाँ बिरामी फेला परेका हुन् । नयाँ बिरामी फेला परेपछि उपचारका लागि सम्बन्धित स्थानका स्वास्थ्य संस्थामा पठाइएको र जटिल खालकालाई मात्र साइनिङ अस्पतालमा राखेर उपचार गराइएको जनाइएको छ ।

चालु आवको छ महिनामा साइनिङ अस्पतालमा भर्ना भई ३३ जनाले उपचार सेवा लिएका थिए। अस्पतालमा जटिल र गम्भीर प्रकृतिका बिरामी मात्रै उपचारमा राख्ने गरिएको छ। अघिल्लो वर्ष ४३ जना नयाँ बिरामी फेला परेका थिए। अहिले छ महिनामै २४ जना नयाँ फेला परेपछि यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ बिरामी फेला पर्ने अनुमान गरिएको थियो । अघिल्लो पटक कुष्ठरोगका १२ जना नयाँ फेला परेका बिरामीमध्ये धेरै जसो सुर्खेतकै थिए । त्यसपछि दैलेख र जाजरकोटका सात/सात, जुम्ला र कालीकोटका तीन/तीन, रुकुमपश्चिमका दुई तथा सल्यान, हुम्ला, डोल्पाका एक/एक र अन्य प्रदेशका छ जना नयाँ बिरामी फेला परेका थिए । अघिल्लो वर्ष अस्पतालमा ६६ जनाले भर्ना भएर उपचार सेवा लिएका थिए । 

कर्णाली कुष्ठरोग निवारणको अवस्थामा छ। प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम बिरामी देखिनुलाई निवारणको अवस्था मान्ने गरिएको छ। कर्णालीका सबै १० जिल्लाको अवस्थामा प्रति १० हजारमा एक जनाभन्दा कम बिरामी रहेका पाइएको छ। अस्पतालमा अहिले चार बिरामी उपचाररत छन्। साइनिङ अस्पताल आइएनएफका कार्यक्रम संयोजक ललितबहादुर सारूले यस वर्ष ६० जनालाई भर्ना गरी उपचार गर्ने लक्ष्य रहेको बताउनुभयो । 

उहाँले अस्पतालमा पाँच वटा शय्या कुष्ठरोग प्रभावितका लागि छुट्याइएको जानकारी दिँदै उपचार पनि सोही अनुसार भइरहेको बताउनुभयो। विगतको तुलनामा स्रोतमा कमी आएकाले उपचार गर्ने सङ्ख्यामा पनि कमी ल्याउनु परेको उहाँको भनाइ छ। उहाँका अनुसार सुर्खेतको अस्पतालमा एक महिनासम्म राखेर उपचार गरिन्छ। 

विभेद कायमै

अवस्थामा सुधार आए पनि कुष्ठरोगका बिरामीले भोग्दै आएको विभेदमा कमी आएको छैन। सहरभन्दा दुर्गम र ग्रामीण क्षेत्रमा विभेद कायमै छ। वीरेन्द्रनगर नगरपालिका–१२ का श्री महताराले सहरबजारमा कमी आए पनि दुर्गम र ग्रामीण क्षेत्रमा कुष्ठरोग प्रभावितले निकै अपमान र विभेद भोग्नु परेको बताउनुभयो।  वीरेन्द्रनगर नगरपालिका–७ का धनबहादुर सुनारले ग्रामीण क्षेत्रमा अझै पनि कुष्ठरोगका बिरामीलाई ओढार, बारीको डिलमा राख्ने र घरअगाडिबाट हिँड्न नदिने गरिएको बताउनुभयो । कुष्ठरोग कल्याण समाजका कोषाध्यक्षसमेत रहेका सुनारले उपचारबाट कुष्ठरोग निको हुने भएकाले बिरामीलाई विभेद नगर्न आग्रह गर्नुभयो। 

आइतबार ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ। साइनिङ अस्पताल आइएनएफ सुर्खेत र जनस्वास्थ्य सेवा कार्यालयद्वारा साइनिङ अस्पतालमा उपचाररत कुष्ठरोग प्रभावितलाई फलफूल तथा न्यानो कपडा वितरण गरिएको छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर