नेभिगेसन मेनु

भेरीमा बिरामीको चाप बढ्यो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-30 14:26

bheribi2

माघ १६ गते । पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको उपचार हुने प्रमुख अस्पतालका रूपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेसँगै सेवा विस्तारको पहल पनि सुरु गरिएको छ ।  

पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सेवा दिँदै आएको सो अस्पतालको प्रसूति सेवालाई थप फराकिलो, प्रभावकारी र गुणस्तरीय बनाउन बाँकेकी सङ्घीय सांसद दीपा शर्माले पहल सुरु गर्नुभएको हो । 

सो अस्पतालमा बाँके र बर्दियासँगै अन्य जिल्लाबाट पनि प्रसूति गराउन आउने बढ्दै गएकाले प्रसूति सेवाका लागि छुट्टै एउटा थप भवन निर्माण गरेर विशिष्टीकृत सेवा उपलब्ध गराउने सोचका साथ पहल सुरु गरिएको सङ्घीय सांसद शर्माले बताउनुभयो । उहाँले अस्पताल परिसरमै रहेको तीन कट्ठा जमिनमा उक्त प्रसूतिगृह निर्माण गर्ने र शल्यक्रियालगायत सबै सेवा उक्त भवनबाटै दिने गरी योजना अगाडि बढाउनेबारे अस्पतालका चिकित्सकलगायतसँग छलफल गरिएको बताउनुभयो । 

सांसद शर्माले भेरी अस्पतालको समग्र सेवाबारे चासो व्यक्त गर्दै पाँच सय शय्या सञ्चालन गर्न सबै सम्बद्ध निकायको सहयोग र भूमिका आवश्यक रहेको बताउनुभयो । भेरी अस्पतालका प्रमुख डा. पवनजङ्ग रायमाझीले प्रसूति सेवा प्रभावकारी बनाउन आवश्यक रहेको जनाउँदै अस्पताल विकास समितिको बैठक बसेर प्रक्रिया अगाडि बढाइने बताउनुभयो । उहाँले छुट्टै प्रसूति सेवासँगै अभाव रहेका कर्मचारीको परिपूर्ति गरेर गुणस्तरीय सेवा विस्तार गरिनुपर्नेमा जोड दिनुभयो । 

सो छलफल कार्यक्रममा सहभागी भेरी अस्पताल विकास समितिका निवर्तमान सदस्य कृष्णप्रसाद श्रेष्ठ, अस्पतालका पूर्वप्रमुख डा. बद्री चापागाईं, डा. कृतिपाल सुवेदीलगायतले अस्पतालको सेवा विस्तारका लागि सुझाव दिनुभएको थियो ।

विसं १९४७ मा साधारण चोटपटक लागेका बिरामीको उपचार गर्ने उद्देश्यका साथ स्थापना भएको भेरी अस्पताल १३३ वर्षको इतिहास बनाउँदा विशिष्टीकृत सेवा प्रवाहको दिशामा अगाडि बढ्दै गएको छ । लामो समयसम्म १५० शय्या सञ्चालित भेरी अस्पताल अब भने पाँच सय शय्या सञ्चालनको तयारीमा अगाडि बढेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर