नेभिगेसन मेनु

प्रहरीको सुरक्षामा प्रसारण लाइनको काम सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-23 12:29

adfbad

पुस ७ गते । सर्लाहीको लामबन्दी नगरपालिका–१२, जियाजोरमा सात वर्षदेखि रोकिएको हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाको काम प्रहरीको सुरक्षामा अघि बढाइएको छ । 

जग्गाको मुआब्जा वितरणको विषयलाई लिएर स्थानीयबाट अवरोध हुँदा सात वर्षदेखि जियाजोर क्षेत्रमा काम रोकिएको थियो । आयोजनाका अनुसार यस ठाउँमा आठ वटा टावरको जग खन्न बाँकी छ भने तीन वटा टावरको जग राखिसकेर  टावर उठाउने काम मात्रै बाँकी छ । स्थानीयको अनावश्यक विरोध पछि रोकिएको कामलाई प्रहरीको सुरक्षा घेराबाट काम अघि बढाइएको हो । 

पटक–पटक स्थानीयसँग छलफल गर्दा पनि मुआब्जाको विवाद नटुङ्गिएपछि अहिले भने सुरक्षाकर्मी नै तैनाथ गरेर लाइनको टावर राख्नका लागि खाल्डो खन्ने काम भइरहेको छ । गएको बुधवारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा पहरामा टावरका लागि जग खन्ने काम धमाधम भइरहेको हो । 

हेटौँडा–ढल्केर–इनरुवा ४०० केभी प्रसारण आयोजना प्रमुख श्यामकुमार यादवले जियाजोर खण्डमा रोकिएको काम अघि बढेको जानकारी दिनुभयो । यस प्रसारण लाइनको ढल्केर–हेटौँडा खण्ड अन्तर्गत सर्लाहीको जियाजोर र मकवानपुरको हटिया दुई ठाउँमा मात्रै स्थानीयबाट अवरोध हुँदा काम रोकिएको थियो । 

त्यसमध्ये जियाजोर क्षेत्रको काम अघि बढेको छ । प्राधिकरणले अबको तीन महिनाभित्रै प्रसारण लाइनको सम्पूर्ण काम सक्ने गरी तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रहरी राखेर काम अघि बढाएपछि स्थानीय बासिन्दाले बिहीबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा डेलिगेसन गएर उचित मुआब्जाको माग पुनः अघि सारेका छन् । 

स्थानीयसँगै जिल्ला प्रशासन कार्यालय पुग्नुभएका लामबन्दी नगरपालिका १२ का वडाध्यक्ष दुर्गाबहादुर आले मगरले स्थानीय बासिन्दाको माग सम्बोधन गरिदिन ध्यानाकर्षण गराइएको बताउनुभयो । लाइनको टावर बस्ने जग्गा अधिग्रहण गर्दाको मुआब्जासहित तार टाङ्दा ओगट्ने जग्गा र क्षति पुग्ने बालीनालीको समेत उचित हिसाबले क्षतिपूर्ति दिन माग गरेर फर्किएको वडाध्यक्ष आलेले बताउनुभयो । 

जियाजोर क्षेत्रमा तीन दिनदेखि धमाधम डोजर लगाएर टावर रहने ठाउँमा खाल्डो खनिरहँदा स्थानीयबाट अहिलेसम्म कुनै अवरोध भएको छैन । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले डेलिगेसन आएका स्थानीयलाई यो प्रसारण लाइन निर्माण हुँदाको फाइदा बुझाएरै काम अघि बढाइएको बताउनुभयो । 

प्रजिअ यादवले प्रभावित स्थानीयलाई यथाशीघ्र उचित मुआब्जा दिने गरी नै काम अघि बढाइएको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर