काठमाडौं । मनाङ एयरको हेलिकोप्टर आज बिहान खुम्बु क्षेत्रमा दुर्घटनामा परेको छ ।
लुक्ला विमानस्थलबाट बिहान ७ बजेर १३ मिनेटमा खाद्यान्नको कार्गो बोकेर माथिल्लो क्षेत्र गएको हेलिकोप्टर खुम्बु पासाङल्हामु गाउँपालिका( ४ लोबुचेमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर पाइलट मात्र सवार थिए ।
दुर्घटनामा परी हेलिकोप्टर पूर्ण रूपमा जलेको छ भने पाइलट बाच्न सफल भएका छन् । हेलिकप्टर जलेसँगै घाइते भएका पाइलट प्रकाश सेढाईलाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयाे ।
घाइते पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो । दुर्घटनाको यकिन कारण भने खुल्न सकेको छैन । शरद ऋतुको पर्यटकीय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा यो पहिलो हवाई दुर्घटना हो ।
यसैबीच पछिल्लो तीन महिनामा दुई वटा हेलिकोप्टर दुर्घटना भएपछि खराब उडान सुरक्षामाथि समीक्षा गर्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको छ ।