नेभिगेसन मेनु

नेपालीलाई इजरायलबाट स्वदेश ल्याउन सरकारले चार्टर विमान पठाउने
सम्पादक:南亚网络电视
समय:2023-10-10 13:05

thumb

नेपाल सरकारले इजरायलबाट स्वदेश फिर्ता हुन चाहने नागरिकका लागि यथाशीघ्र चार्टर विमानको व्यवस्था गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नागरिकका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी पठाउने निर्णय गरेको हो। स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउनसमेत सरकारले इजरायलस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ।

Prachanda-Cabinet0

 इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको जहाज पठाइने

नेपाल फर्काउने अवधिसम्म उनीहरूलाई अस्थायी ट्रान्जिट होम स्थापना गरी व्यवस्थापन गर्न पनि सरकारले दूतावासलाई स्वीकृति दिने निर्णय गरेको छ।

इजरायलमा श्रम, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि पुगेका करिब पाँच हजार नेपाली छन् । शनिबार साँझ हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि त्रसित अन्य विद्यार्थीलगायत नेपालीले स्वदेश फर्किने इच्छा जनाएका हुन् ।

दूतावासले नेपाल सरकार र इजरायल सरकारसँग समन्वय गरी विवरण संकलनका लागि आइतबार रातिदेखि अनलाइन रजिस्ट्रेसन सुरु गरेको थियो । सोमबार साँझ दूतावासले जारी गरेको विज्ञप्तिअनुसार हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरूलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ–संस्थाको सहयोगमा उद्धार थालिएको छ । ‘केही विद्यार्थीहरूको थप सुरक्षित ठाउँमा स्थानान्तरण भइसकेको छ भने केही स्थानान्तरण हुने क्रममा छन्,’ दूतावासले भनेको छ । 

सरकारले स्वदेश आउन चाहेका नागरिकको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि नियुक्ति गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । इच्छुक नागरिकलाई स्वदेश नफर्किउन्जेलसम्म अस्थायी ट्रान्जिट होम स्थापना गरी व्यवस्थापन गर्न पनि सरकारले दूतावासलाई स्वीकृति दिएको छ । उद्धारका लागि इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने पनि सरकारको निर्णय छ । 

मन्त्रिपरिषद् बैठकपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरेर भनेको छ, ‘अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध गर्ने ।’ तर, इजरायलले जहाज चार्टरका लागि अनुमित दिएपछि मात्र सरकारले उद्धार उडान सुरु गर्नेछ । स्वदेश फर्किन इच्छुकहरूलाई नेपाली दूतावास र तेल अभिभले खुला गरेको अनलाइन रजिष्ट्रेसन प्रणालीमा आफ्नो विवरण यथाशीघ्र प्रविष्ट गर्न परराष्ट्रले अनुरोध गरेको छ । 

त्यस्तै, मृत्यु भएका विद्यार्थीको शव स्वदेश झिकाउन राजदूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय थालेको छ । हमासको आक्रमणमा किबुज अलुमिममा उनीहरूको ज्यान गएको थियो । त्यस्तै, चार घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुई विद्यार्थी तेलअबिब सहर पुगेका छन् भने कञ्चनपुरको भीमदत्तनगर नगरपालिका– ३ का विपिन जोशी बेपत्ता छन् । 

मृतकका परिवारलाई संघ सरकारले १० लाख र सुदूरपश्चिम सरकारले जनही दुई लाख दिने घोषणा

सरकारले दक्षिण इजरायलको किबुज अलुमियामा हमासको आक्रमणमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई जनही १० लाखका दरले राहत घोषणा पनि गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले राहत घोषणासँगै मंगलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ । 

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमास समूहले गरेको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई राहत दिने भएको छ । प्रत्येक परिवारलाई जनही दुई लाख रुपैयाँ राहत दिने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । मुख्यमन्त्री शाहले इजरायलमा सम्पर्कविहीन तथा घाइते विद्यार्थीको शीघ्र खोज तथा उद्धारका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै मृतकका शव र नेपाल आउन चाहने नेपालीलाई फिर्ता ल्याउन पनि आग्रह गरेका छन् ।

नेपालीप्रति भारतको सहानुभूति

भारत सरकारले इजरायलमा आतंकवादी आक्रमणमा १० नेपालीको मृत्यु भएकोप्रति दुःख एवं सहानुभूति जनाएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर सोमबार पठाएको पत्रमा दुःख व्यक्त गरिएको छ । ‘यस दु:खद घडीमा नजिकको छिमेकीको नाताले भारत नेपालको साथमा छ,’  श्रीवास्तवले उल्लेख गरेका छन् । 

जोखिमयुक्त ठाउँबाट ३२ विद्यार्थीको सुरक्षित स्थानमा उद्धार 

सुदूरपश्चिम विश्वविद्यालयका ३२ विद्यार्थीको सोमबार इजरायलका जोखिमयुक्त विभिन्न ठाउँबाट सुरक्षित स्थानमा उद्धार भएको छ । उनीहरूलाई इजिप्टतिरको सिमावर्ती इजरायली क्षेत्रमा पुर्‍याइएको हो । ४९ विद्यार्थी इजरायल गएकामा १० को मृत्यु भइसकेको छ भने चार घाइते अस्पतालमा उपचाररत छन् । एकजना भने बेपत्ता छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार सोमबार उद्धार भएकाहरूमा रमेशबहादुर कार्की (बडिमालिका– ७, बाजुरा), विनोदप्रसाद शाह (गढीमाई– ४, रौतहट), आभास भट्टराई (टीकापुर– १, कैलाली), नरेशसिंह भण्डारी (कृष्णपुर– २, कञ्चनपुर), लोकेन्द्र विष्ट (मष्टामाण्डु– ८, डडेल्धुरा), रोहित नायक (टीकापुर– ६, कैलाली), निरञ्जनकुमार कुसवाह (पिपरिया– ४, रौतहट), अरबिनकुमार चौधरी (दोधारा– ९, कैलाली), उपेन्द्र जिसी (टीकापुर– ९, कैलाली), ओमप्रकाश उपाध्याय (धनगढी– २, कैलाली), गणेश साउद (लम्कीचुहा– १, कैलाली), बादल सुवेदी (घोराही– ४, दाङ), प्रवीण जिसी (सिम्ता– २, सुर्खेत), गणेशप्रसाद जोशी (मेलौली– ५, बैतडी) र नवीन घिमिरे (बंगलाचुली– ३, दाङ) छन् । 

त्यस्तै, श्रेया तिवारी (रत्ननगर– ४, चितवन), विपना जोशी (लम्कीचुहा– ७, कैलाली), नारायण भुसाल (पैयुँ– ५, पर्वत), मनीषा खनाल (रेसुंगा– २, गुल्मी), लुइस रिजाल (गेरुवा– ६, बर्दिया), प्रमोद भट्ट (मेलौली– ९, बैतडी), अनुप अधिकारी (कमलामाई– २, सिन्धुली), समर्पण आचार्य (तुल्सीपुर– १२, दाङ), निश्चल पाण्डे (टीकापुर– १, कैलाली), विभुषा अधिकारी (भरतपुर– १५, चितवन), सुष्मा रेग्मी ( बान्निगढी जैगढ– २, अछाम), रचना चौधरी (टीकापुर– १, कैलाली), आशा मिश्र (लम्कीचुहा– ९, कैलाली), कल्पना जोशी (गोदावरी– २, कैलाली), शिलाकुमारी यादव (बढियाताल– ३, बर्दिया), साधना बोहरा (त्रिवेणी– ५, सल्यान) र विपिन सुवेदी (त्रिपुर– ५, दाङ) को पनि उद्धार भएको छ । प्रमोद केसी (त्रिवेणी– १, सल्यान) र वीरेन्द्र चौधरी (भजनी त्रिशक्ति– ४, कैलाली)को आइतबारै तेलअभिभमा उद्धार भएको थियो । 

मृत्युको मुखबाट जोगिएका कैलाली भजनीका वीरेन्द्र चौधरीको बयान : आँखैअगाडि १० जना साथी ढले, हामी बाँचेको धेरैपछि थाहा भयो 

दक्षिण इजरायलको किबुज अलुमिमस्थित हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो । हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैजना तत्काल बंकरमा छिर्‍यौँ, किनभने हामीलाई गोलाबारीको आवाज आउना साथ ‘बंकरमा बस्नू सुरक्षित हुन्छ’ भनिएको थियो । हामी बंकरमा गयौँ, फोटो–भिडियो बनायौँ । 

एक घन्टापछि (अन्दाजी ६:३० तिर) बन्दुकधारी आतंककारीहरू बंकरभित्र प्रवेश गरेर गोली चलाए । सुरुमै हाम्रा दुई साथी ढले । बाँकी सबै एकै ठाउँ घोप्टो पर्‍यौँ, आँखा बन्द गर्‍यौँ । त्यहाँ दुईवटा ग्रिनेड छाडेर आतंककारीहरू फर्किए । हाम्रा एक साथीले एउटा ग्रिनेट उठाएर फालिदिए, अर्को पड्कियो । अरू तीन साथी पनि घाइते भए । 

त्यसपछि तीनजना इजरायली प्रहरी हामी भएको बंकरमा आइपुगे । घाइते पाँच साथीलाई त्यहीँ छाडेर प्रहरीले हामी १२ जनालाई अर्को बंकरमा लग्यो । त्यो भान्सा भएको बंकर थियो । तर, साढे ९ बजेतिर उक्त बंकरमा पनि आतंककारीहरू आइपुगे । तीन इजरायली प्रहरीलाई समातेर लगे अनि हामीतिर गोली वर्षाउन थाले । साथीहरू पानी, पानी भन्दै ढले । सुरुमा दुईजना साथीहरूको प्राण गयो । यस्तो आतंकित अवस्था भयो कि म अहिले बताउन सक्दिनँ । साथीहरू चिच्याउन थालेपछि आतंककारीले झन् गोली वर्षाए । म साथीहरू ढलेको थुप्रोभित्र पुरिएँ । पछि थाहा भयो, १० साथीको प्राण गइसकेछ । आफू बाँचेको पनि धेरैपछि मात्र थाहा भयो, किनभने मेरो होस गुमेको रहेछ । 

अर्को साथी सल्यान त्रिवेणीका प्रमोद केसी पनि बाँचेका रहेछन् । मलाई म मात्रै बाँचेजस्तो लागेको थियो । प्रमोदलाई पनि ऊ मात्रै बाँचेजस्तो लागेको रहेछ । आफ्नै आँखाअगाडि साथीहरूको मृत्यु देखेपछि दिनभर त्रासमा रह्यौँ । 

साँझ साढे ६ बजे इजरायली आर्मी आए । हामीलाई अर्को ठूलो बंकरमा लगे । साथीहरूको शव त्यहीँ छाडेर हामी अर्को बंगरमा जानुपर्ने बाध्यता भयो । त्यहाँ थाई र इजरायली नागरिक पनि थिए । इजरायलको आर्मीले हामीलाई बीचबाटोसम्म उद्धार गर्‍यो, आधा बाटो बसमा यात्रा गर्‍यौँ । त्यसपछि नेपाली दाइहरू लिन आउनुभएको रहेछ । उहाँहरूसँगै तेलअभिभमा आएर बसेका छौँ । 

आँखैअगाडि साथीहरू भकाभक ढलेको त्यो घटना म सम्झिन पनि सक्दिनँ । जीवनमा यस्तो घटना न देखेको थिएँ, न कल्पना गरेको थिएँ । बंकर सेफ (सुरक्षित) हुन्छ भन्ने थियो, त्यो पनि सुरक्षित नभएपछि कहाँ जाने ? कसरी सुरक्षित हुने ? चार साथीहरूको उपचार भइरहेको सुनेका छौँ, एक साथीको अहिलेसम्म अत्तोपत्तो छैन । हामी नेपाल फर्किन चाहन्छौँ । अरू साथीहरूको पनि उद्धार गरेर एकैचोटि नेपाल फर्काउने भनिएको छ । हामी राजदूतावाससँग सम्पर्कमा छौँ, स्वदेश फर्किने समय कुरेर ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर