नेभिगेसन मेनु

घुम्ती शिविरले ज्येष्ठ नागरिक खुसी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-05 12:50

Untitled-1 (6)

बुटवल, भदौ १९ गते । रुपन्देहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको १० दिने घुम्ती शिविरबाट सहज रूपमा सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । घुम्ती शिविरबाट एक हजार १४० ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ । गाउँघरबाटै जनतालाई सेवा पु-याउने उद्देश्यले आयोजना गरिएको घुम्ती शिविर प्रभावकारी देखिएको छ । 

खास गरी ज्येष्ठ नागरिकले वृद्ध भत्ता नवीकरण गर्ने समय घर्किंदै गएका बेला आयोजना गरिएको घुम्ती शिविरले ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र बनाउनसमेत सहज भएको छ । 

कञ्चन–१, बेलभरियाका ७५ वर्षीय हरि पराजुलीले पहिले ज्येष्ठ नागरिक परिचयपत्र बनाउन पालिकाकै कार्यालय जानुपर्ने तर अहिले वडाबाटै परिचयपत्र पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भदौ अन्तिमसम्म वृद्ध भत्ता नवीकरण गर्नुपर्नेमा धेरै वृद्धवृद्धाले वृद्ध भत्ता नवीकरण गर्न ध्यान नदिएको अवस्थामा घुम्ती शिविरले झकझक्याउने काम गरेको बताउनुभयो । पालिकाले १० दिन आयोजना गरेको घुम्ती शिविरबाट एक हजार चार सयभन्दा बढी सेवाग्राहीले घरबाटै सेवा लिएका छन् । शिविरबाट नौ लाख ३९ हजार ५६४ रुपियाँ राजस्वसमेत सङ्कलन भएको जनाइएको छ । घुम्ती शिविरमा ज्येष्ठ नागरिक परिचयपत्रका साथै व्यवसाय दर्ता, कर तिर्ने तथा सङ्घ संस्थाको दर्ता नवीकरण गर्ने व्यवस्था गरिएको थियो । पालिकामा गएर कर तिर्नुपर्ने झन्झट अन्त्य गर्ने तथा सङ्घ संस्था नवीकरण गर्न पालिकामै जानुपर्ने बाध्यता हटेको छ । यसबाट सेवा लिन सहज भएको सेवाग्राहीले बताएका छन् । 

पालिकाले व्यवसाय कर नतिरेका व्यवसायीलाई असोज मसान्तभित्र तिरेमा दुई वर्षसम्मको व्यवसाय कर निःशुल्क गर्ने व्यवस्था गरेको छ । कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले घुम्ती शिविरको मुख्य उद्देश्य जनतालाई वडाबाटै सेवा दिनु रहेको र सेवाग्राही पालिकामै आउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । यहाँको मिलिजुली आमा समूहकी सचिव कमला रानाले घुम्ती शिविरले गर्दा धेरै सुविधा पुगेको बताउनुभयो । उहाँले घुम्ती शिविरले गर्दा बुटवल जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । यसबाट आफूजस्तै धेरै सेवाग्राहीलाई सुबिस्ता पुगेको उहाँले बताउनुभयो । घुम्ती शिबिरबाट २४ वटा आमा समूह तथा युवा क्लब नवीकरण भएका छन् । ८६ जना व्यवसायीले व्यवसाय दर्ता गरेका छन् भने २०६ जना व्यवसायीले नवीकरणको सेवा लिएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर