पहिलो मनसुनसँगै सुरु भएको डेंगी संक्रमणको जोखिम थप तीन महिनासम्म रहने आकलन गरिएको छ। राष्ट्रिय इपिडिमियोलोजी तथा रोेग नियन्त्रण महाशाखाले कात्तिकसम्म डेंगी संक्रमणको जोखिम रहने आकलन गरेको हो। इपिडिमियोलोजी महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले पानी पर्ने क्रम जारी रहेकाले कात्तिकसम्म डेंगीको जोखिम रहने आकलन गरिएको बताए। सुनसरीको धरान र आसपासमा ज्यानै लिनेगरी डेंगी संक्रमण फैलिए पनि अन्यत्र जोखिमपूर्ण अवस्था नआएको उनको भनाइ छ।
जेठयता डेंगी संक्रमणका कारण मृत्यु भएका १२ जनामध्ये धरानका मात्रै ११ रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी धरानका छन्। त्यहाँ जोखिम कम भए पनि संक्रमण धेरैलाई भएको र कतिपय उपचाररत रहेको बताइएको छ। देशभरिमा हालसम्म १६ हजार २६७ जनामा डेंगी संक्रमण भइसकेको महाशाखाको तथ्यांक छ। सबैभन्दा बढी सुनसरीमा ८ हजार ४५२ जना, त्यसपछि मोरङमा १ हजार ८७७ जना, धादिङमा १ हजार ७५७, झापामा ९२६ जना, काठमाडौंमा ३९० जनामा संक्रमण देखिएको छ।
तथ्यांकअनुसार हालसम्म चार जिल्लामा ५०० भन्दा बढी संक्रमित भेटिएका छन्। संक्रमण भने ७७ जिल्लामै फैलिएको महाशाखाको भनाइ छ। प्रभावित क्षेत्र पहिचान गरी सरकारले सबै प्रदेश र जिल्लासँग समन्वय गरी उपचारजन्य र जनचेतनाजन्य कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमसँगै सबैै स्थानीय तहले ‘डेंगी लामखुट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान जारी राखेको कीटजन्य रोग शाखाका प्रमुख डा. दाहालले बताए।
लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानलाई सबै निकायले जोखिम अवधिसम्मका लागि निरन्तरता दिनुपर्ने डा. दाहालको भनाइ छ। यो अभियान हरेक स्थानीय तह र हरेक घरपरिवारले निरन्तर रूपमा गर्नुपर्नेमा उनले जोड दिए।
डेंगी संक्रमण हुन नदिन संघीय राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा स्थानीय सरकारले पूर्वसावधानीका उपाय अपनाएको देखिँदैन। काठमाडौं महानगरपालिकाले विगतमा डेंगी नियन्त्रणका लागि लामखुट्टेको बासस्थान पहिचान गरी मार्न औषधि छर्ने गरेको थियो। तर अहिले महानगरपालिकाले लामखुट्टे मार्ने र यसबाट जोगिन पूर्वसावधानी अपनाएको देखिँदैन।
यस्तो अवस्थामा धरानमा जस्तै काठमाडौं उपत्यकामा डेंगी संक्रमण फैलिने खतरा देखिएको छ। संक्रमण फैलिन नदिन स्थानीय तहले विशेष सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ।
चिकित्सकहरूका अनुसार डेंगी संक्रमणबाट बच्ने मुख्य उपाय भनेको यो रोग सार्ने लामखुट्टे एडिस एजिप्टाईको टोकाइबाट जोगिने हो। यो लामखुट्टे धेरै दिनदेखि जमेको सफा पानीमा बस्ने र त्यहीँ अण्डा पारेर लार्भा हुँदै विकसित हुने गर्छ। डेंगी संक्रमण नियन्त्रणका लागि लामखुट्टेको बासस्थान पहिचानमा ध्यान दिन डा. दाहालले सुझाए। यसका लागि आफ्नो घरवरपरको सरसफाइलाई कायम राख्नुपर्ने उनको भनाइ छ। खासगरी घरनजिक खुला रूपमा प्लास्टिकका बट्टा, टायर, बाल्टिन, बोतल रहन नदिने, घरमा कुनै पनि खाली भाँडामा सफा पानी भरेको भए धेरै दिन नराख्ने, पानी राख्नैपरे राम्रोसँग ढक्कन लगाउने, गमलाको थालीमा राखिने पानी हरेक साता फेर्नेलगायत तरिका अपनाए धेरै हदसम्म संक्रमणबाट बच्न सकिने चिकित्सक बताउँछन्।
एडिस एजिप्टाई लामखुट्टे बिहान सूर्योदय र सूर्यास्तका बेला विशेष सक्रिय हुने र मान्छेलाई पनि त्यहीबेला टोक्ने भएकाले सो समयमा सचेत हुन डा. दाहालले सुझाए। सो समयमा सुत्नैपरे झुल प्रयोग गर्ने, पूरा बाहुला भएको लुगा लगाउनेजस्ता सामान्य सावधानी अपनाए लामखुट्टेको टोकाइबाट बच्न सकिने र डेंगीबाट जोगिइने उनको भनाइ छ।