नेभिगेसन मेनु

कालापानी क्षेत्रमा फहराइयो राष्ट्रिय झन्डा
सम्पादक:南亚网络电视
समय:2023-06-12 14:17

Untitled-1 (31)

दार्चुला, जेठ २९ गते । चीनको सीमानजिकको बस्ती टिङ्करमा व्यास गाउँपालिकाले कार्यपालिका बैठक आयोजना गरेको छ। छाङरु तथा टिङ्करवासीको पीडा सुन्न र त्यहाँका मुद्दा उठाउने उद्देश्यले कार्यपालिका बैठक टिङ्करमा राखिएको गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो।  स्थानीय घरेलु मदिरा व्यवस्थित तथा वैधानिकताका लागि सम्बन्धित निकायसँग पहल गर्ने, टिङ्कर नाका सञ्चालन, बोर्डर आउट पोस्ट (बिओपी) स्थापना, व्यासमा पर्यटन प्रवर्धनलगायतका विषयमा निर्णय गर्दै गाउँकार्यपालिकाको २० औँ बैठक आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष विनोद कुँवरले बताउनुभयो। 

नेपाली भूमिसम्म पुग्ने बाटो निर्माण गरी भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता हटाउनु पर्ने माग स्थानीयले राखेका छन्। कोरोना महामारीपछि बन्द भएको ताक्लाकोट नाका खुलाउन सरकारसँग जोडदार माग गर्ने निर्णय गरिएको छ।

“सबै नाका खुले पनि ताक्लाकोट नाका अझै खुलेको छैन। हामीले केही महिनाअघि काठमाडौँ गएर नाका खोल्न माग गरेका थियौँ,” गाउँपालिका प्रवक्ता धामीले भन्नुभयो, “नाका खोल्न फेरि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ।”

“छाङरु र टिङ्कर जोड्ने बाटो निर्माणका लागि यस पटक बजेट कम विनियोजन गरिएको छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा बाटो पुग्न वर्षौं लाग्ने देखिन्छ, निकट भविष्यमै बाटो पु-याउन दबाब दिन्छौँ।” 

जेठ २५ गते भारतसँग अनुमति मागेर कार्यपालिकाको टोली भारतीय बाटो हुँदै छाङरु र टिङ्कर गएको थियो। व्यास जोड्ने गोरेटो बाटोमा करोडौँ खर्च हुँदासमेत आवतजावत गर्न सक्ने बाटो बन्न नसकेको भन्दै स्थानीयले सम्बद्ध अधिकारीको विरोध गरेका छन्। 

नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिङ्कर सडकमा समेत पर्याप्त बजेट नहुँदा अपेक्षित प्रगति हुन सकेको छैन। अतिक्रमित सीमानजिकका गाउँ छाङरु र टिङ्करमा व्यासी सौँका समुदायको बाक्लो बसोबास रहेको छ।

कालापानीमुनि फहराइयो झन्डा

दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा चुच्चे नक्सा अङ्कित राष्ट्रिय स्तम्भमा नेपाली झन्डा फहराइएको छ। शनिबार व्यास गाउँपालिकाले १५ फिट अग्लो राष्ट्रिय स्तम्भमा नेपाली झन्डा राखेको हो। 

“व्यास गाउँपालिकाले २०७९ असोजमा करिब १५ लाख रुपियाँ बढीको लगानीमा छाङरुमा चुच्चे नक्सा अङ्कित राष्ट्रिय स्तम्भ बनाएको थियो। यसअघि राखिएको झन्डा च्यातिएकाले नयाँ झन्डा राखेका छौँ,” व्यास गाउँपालिकाका अध्यक्ष धामीले भन्नुभयो, “त्यसमा यसअघि नै चुच्चे नक्सा राखिएको छ।” 

छाङरु र टिङ्करमा राज्यको बलियो उपस्थिति देखाउनुका साथै देश विदेशमा नेपाल चिनाउन स्तम्भ बनाइएको अध्यक्ष धामीले बताउनुभयो। भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमुनिका बस्ती छाङरु र टिङ्कर पुग्न नेपाली भूमिमा बाटो नहुँदा भारतको बाटो प्रयोग गर्नु पर्ने त्यहाँका स्थानीयको बाध्यता छ। 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिएको थियो। कालापानी क्षेत्र समेटेर नक्सा जारी भए पनि त्यो क्षेत्र अझै नेपालले पाएको छैन।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर