नेपाल आर्मीका हरिचन्द्र गिरीले तीन पटक गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाइसके । यस पटक फेरि नयाँ शीर्षकमा गिनिज वर्ल्ड रेकर्डस्मा दाबी प्रस्तुत गरिसकेका छन् ।
नयाँ काम गरेर आफूलाई विश्वमाझ चिनाउन प्रयत्नरत उनी साहसिक काम गर्न रुचाउँछन् । यसैक्रममा उनले बुढानीलकण्ठको जाम्चेन विजय स्तूपको भर्याङका ७७ सिँढी हातले टेक्दै ओर्लिएर विश्व रेकर्ड राखेका छन् ।
गिरीले हात मात्रै टेकेर २५.०३ सेकेन्डमा भर्याङका खुड्किला ओर्लिएका हुन् । उनले केही साताभित्रै गिनिज वर्ल्ड रेकर्डस्बाट आधिकारिक सर्टिफिकेट हात पार्नेछन् । दाङ स्थायी घर भएका गिरी विगत ९ वर्षदेखि नेपाल आर्मीमा आबद्ध छन् । उनले २०७७ मा ‘आर्मी गट् ट्यालेन्ट’ जितेबापत ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।
यसअघि गिरीले तीनवटा शीर्षकमा गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाइसकेका छन् । खुट्टाको बीचमा बल राखेर हातले टेकेर हिँड्ने शीर्षकमा उनले ४.४९ सेकेन्डमा १० मिटर पार गरेर पहिलो विश्व रेकर्ड राखेका थिए । यही शीर्षकमा ५० मिटर दूरी उनले २५.५८ सेकेन्डमा पार गरेर दोस्रो विश्व रेकर्ड राखेका थिए । यस्तै भर्याङका खुड्किला हातले टेक्दै ओर्लिने शीर्षकमा १२.६५ सेकेन्डमा ५० खुड्किला पारेर गरेर तेस्रो विश्व रेकर्ड राख्न सफल भइसकेका छन् ।