नेभिगेसन मेनु

दस महिनामा ३१ प्रतिशत बजेट खर्च
सम्पादक:南亚网络电视
समय:2023-05-18 12:57

Untitled-1 (1)

कर्णाली प्रदेश सरकारले १० महिनामा ३१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को वैशाखसम्म ३१.२२ प्रतिशत बजेट खर्च भएको छ । यसमध्ये चालुतर्फ ३८.८२ प्रतिशत र पुँजीगततर्फ २६.१५ प्रतिशत बजेट खर्च भएको छ । कुल ३२ अर्ब ९४ करोड ९० लाख तीन हजार ९६५ रुपियाँमध्ये १० अर्ब २२ करोड १५ लाख ९४ हजार ८३२ रुपियाँ बजेट खर्च भएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी विकासे बजेट भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले २३.९४ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले ११ अर्ब तीन करोड चार लाख ५८ हजार रुपियाँ बजेटमध्ये दुई अर्ब ५९ करोड ६७ लाख १५ हजार ४५८ रुपियाँ बजेट खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयले ४१.३० प्रतिशत बजेट खर्च गरेको छ । छ अर्ब आठ करोड ९३ लाख ८० हजार २५५ रुपियाँमध्ये दुई अर्ब ५१ करोड ३८ लाख ४५ हजार ८३० रुपियाँ बजेट खर्च भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३०.४१ प्रतिशत बजेट खर्च गरेको छ । दुई अर्ब ४१ करोड ३१ लाख ९१ हजार ९६५ रुपियाँमध्ये ७३ करोड ३८ लाख ५५ हजार ८५९ रुपियाँ बजेट खर्च गरिएको छ । 

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ३५.१५ प्रतिशत बजेट खर्च गरेको छ । तीन अर्ब ८१ करोड ९८ लाख १२ हजार रुपियाँमध्ये एक अर्ब ३४ करोड २४ लाख ८६ हजार ३३८ रुपियाँ बजेट खर्च गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३१.१८ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले दुई अर्ब १६ करोड ८९ लाख रुपियाँमध्ये ६७ करोड ६३ लाख ५१ हजार ८२४ रुपियाँ बजेट खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १८.९५ प्रतिशत बजेट खर्च गरेको छ । कार्यालयले ६७ करोड ३५ लाख ९९ हजार रुपियाँ बजेटमध्ये १२ करोड ७६ लाख ४८ हजार ९०५ रुपियाँ खर्च गरेको छ । आर्थिक मामिला तथा कानुन मन्त्रालयले ४७.७५ प्रतिशत बजेट खर्च गरेको छ । २१ करोड ५५ लाख नौ हजार रुपियाँमध्ये १० करोड २९ लाख छ हजार ३७० रुपियाँ खर्च गरेको छ ।

कर्णाली प्रदेशको बजेट खर्च बर्सेनि निराशाजनक छ । चालु आव सकिन अब दुई महिना मात्रै बाँकी रहँदा बजेट खर्चको उत्साहजनक अवस्था देखिँदैन । बजेट खर्च गर्न थुपै्रै चुनौती रहँदै आएको सरकारले बताएको छ । कर्मचारी अभाव, अन्य स्रोतसाधनको अभाव, आर्थिक वर्षको अन्तिममा आएर बजेट खर्च गर्ने प्रवृत्तिलगायत कारण बजेट खर्च हुन नसकेको बताइन्छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापाले चालु आर्थिक वर्षमा ७० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी अभाव, चुनाव, सरकार परिवर्तनलगायतका कारण खर्च कम छ । केही काम भएको तर भुक्तानी हुन बाँकी पनि रहेको र काम भइरहेकाले ७० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान छ ।” 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर