नेभिगेसन मेनु

हरेक परिकार 'स्वादिलो' बनाउँदै दुई साथी
सम्पादक:南亚网络电视
समय:2023-04-03 15:23

swadilo (1)1680451020

चिनियाँ, दक्षिणपूर्वी एसियाली र तिब्बती परिकारमा 'चिल्ली ओयल' को प्रयोग बढी हुन्छ। अंग्रेजी शब्द 'चिल्ली' अर्थात खुर्सानी र 'ओयल' भनेको तेल हो। 

धेरैलाई खुर्सानी भन्नेबित्तिकै पिरो मात्रै होला भन्ने लाग्न सक्छ। तर यसमा पिरोसँगै टिमुर, सूर्यमुखीको तेल, अदुवा लगायत अन्य मसलाको स्वाद आउँछ। यसले खानाको बासना र मिठास दुवै राम्रो बनाउँछ।

आजकाल नेपाली बजारमा चिनियाँ र तिब्बती खानाको क्रेज बढ्दो छ। यस्तोमा चिल्ली ओयल प्रयोग गर्ने रेस्टुरेन्ट संख्या बढ्दैछ। व्यावसायिक रूपमा चिल्ली ओयल उत्पादन गर्ने नेपाली कम्पनी भने थोरै छन्। यही सम्भावना देखेर तीन वर्षअघि सुरू भएको हो 'स्वादिलो'।

स्वादिलोका सञ्चालक हुन् आदित्य रौनियार र सक्रिय लामा।

'त्यस बेला बजारमा चिल्ली ओयल बनाउने व्यवसायी थोरै थिए। म चिल्ली ओयल बनाएर साथीहरूलाई खुवाउँथे,' आदित्यले भने, 'त्यो रेसिपी बजार पुर्‍याउने विषयमा छलफल भयो। केही समय बजार अध्ययनपछि मा ला चिल्ली ओयल बजार पुर्‍यायौं।'

'मा ला' शब्द चिनियाँ भाषाबाट साभार गरिएको हो। 'मा' को अर्थ सुन्न गराउने स्वाद र 'ला' को अर्थ 'पिरो' हो। यसमा भएको टिमुरले जिब्रो पर्पराउँछ। पिरोले त्यो पर्परलाई सन्तुलित बनाउँछ। खाना बनाउँदा नै मा ला चिल्ली ओयल राख्न सकिन्छ। सिजनिङ गर्न (पाकेको खानामाथि राख्ने काम) पनि सकिन्छ।

अहिले युवापुस्तामा प्रख्यात तिब्बती परिकार लाफिङ र किमा नुडल्समा यस्तै चिल्ली ओयल प्रयोग हुन्छ। चटपटेमा हाल्दा पनि यसले भिन्नै स्वाद दिन्छ। तरकारी नहुँदा खाना वा रोटीसँग पनि खान सकिन्छ।

मा ला चिल्ली ओयलसँगै डल्ले फायरबल (डल्ले खुर्सानीको लेदो), बदाम खुर्सानी (माछा मिश्रित बदाम खुर्सानी) र चिकेन अचार पनि स्वादिलोले बनाउँछ। नेपाली बजार लक्षित भएकाले यी रेसिपी बजार पुर्‍याउन नेपालीपन झल्किने नाम रोजेको आदित्य बताउँछन्।

'सुन्दै मिठो हुने नाम खोज्दै जाँदा स्वादिलो जुर्‍यो। हाम्रो लक्षित बजार नेपाली हुनाले नेपाली भाषामै नाम राखेका हौं,' २६ वर्षीय आदित्यले भने।

सुरूका केही महिना आदित्यको घरको भान्साबाटै सामान तयार हुन्थ्यो। त्यसपछि उनीहरूले साथीको बैंक्वेटको भान्सा प्रयोग गरे। साढे एक वर्षअघि मात्र काठमाडौंको रानीबारीमा स्वादिलोको भान्सा र कार्यालय स्थापना भएको हो।

स्वादिलोले आवश्यक खाद्य पदार्थ र खुर्सानी चन्द्रागिरिको एउटा मिलबाट किन्छ। तेल तोरीको र सूर्यमुखीको प्रयोग हुन्छ। मरमसला थोक बजारबाट ल्याउँछ।

खुलेको छोटो समयमै आफ्ना उत्पादनले राम्रो बजार पाएको आदित्य बताउँछन्। उनका अनुसार ६० हजार रूपैयाँमा सुरू भएको व्यवसायले पछिल्लो एक वर्षमा ६ लाख रूपैयाँको कारोबार गरेको छ।

स्वादिलोमा उपलब्ध सबै उत्पादन आदित्यको रेसिपी हो। खानपिनमा सौखिन उनी नयाँनयाँ रेसिपी बनाउन अघि सर्छन्। स्वादिलोको मार्केटिङ र अन्य व्यापार व्यवस्थापन भने सक्रियको जिम्मामा छ।

आदित्य र सक्रिय सहपाठी थिए। दुई वर्षअघि उनीहरूले होटल व्यवस्थापनमा स्नातक पूरा गरेका हुन्। २०७४ मा स्नातक तहको तेस्रो सेमेस्टरमा थिए। आदित्य आफूले बनाएको चिल्ली ओयल कलेजमा लैजान्थे। साथीहरूलाई खुवाउँथे। खानेहरूले मन पराउँथेँ। यसमा सक्रियले चासो देखाए। चिल्ली ओयलको व्यवसाय गर्न सकिने सम्भावना देखेर आदित्यलाई सल्लाह दिए।

पढाइकै क्रममा ६–६ महिनाका दुइटा अभ्यास (इन्टर्नसिप) गर्नुपर्ने थियो। आदित्यले पहिलो इन्टर्नसिप सोल्टी क्राउन प्लाजामा र सक्रियले हायात रेजेन्सीमा गरे। दोस्रो इन्टर्नसिपका लागि दुवै जना प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल (पाटा नेपाल) पुगे। यो २०७७ असोजतिरको कुरा हो।

चिल्ली ओयल बोक्ने आदित्यको बानी छँदै थियो। खाजामा प्रायः रोटीतरकारी हुन्थ्यो। सक्रियलाई रोटीतरकारी खासै मननपर्ने भए पनि चिल्ली ओयलसँग मिठो मान्थे।

'मा ला चिल्ली ओयलको बासना र स्वादले मननपर्ने खाजा पनि खान सक्थेँ,' २५ वर्षीय सक्रियले भने, 'त्यस बेला फेरि पनि चिल्ली ओयल बजार पुर्‍याउने विषयमा छलफल भयो। सेमेस्टरको अन्तिममा थियौं। यसपटक भने बजार प्रवेश गर्ने पक्का गर्‍यौं।'

त्यस बेला आदित्य, सक्रिय र अर्का एक जना साथी मिलेर स्वादिलो सुरू गरेका हुन्। व्यक्तिगत कारणले ती अर्का साथीले निरन्तरता दिन सकेनन्।

मा ला चिल्ली ओयल बजार पुर्‍याउने योजना बनेको एक साताभित्रै उनीहरूले उत्पादन सार्वजनिक गरे। ब्रान्ड नाम र लोगो तयार पारेर प्याकेजिङलाई पनि प्राथमिकतामा राखेर स्वादिलो बजार प्रवेश गर्‍यो। 

आदित्य भन्छन्, 'कुनै उत्पादन किन्नुअघि त्यसको प्याकेजिङमा ग्राहकहरूको ध्यान जान्छ। हामीले सुरूदेखि नै प्याकेजिङमा विशेष ध्यान दिएका छौं।'

स्वादिलोमा उपलब्ध हरेक उत्पादनको प्याकेजिङ प्रिमियम हुने  उनको भनाइ छ। मा ला चिल्ली ओयल (१७५ ग्राम) र डल्ले फायरबल (१७० ग्राम) सिसाको बट्टामा पाइन्छ। बदाम खुर्सानी (२०० ग्राम) र चिकेन अचार (३०० ग्राम) प्लास्टिक बट्टामा उपलब्ध छ। यी बट्टा पुनःप्रयोग गर्न सकिन्छ।

यिनको उपभोग मिति सामान्यतया १२ महिनासम्म हुन्छ। खास म्याद चाहिँ घरमा राख्ने र चलाउने तरिकामा बढी भर पर्छ। आदित्यका अनुसार धेरै ओसिलो ठाउँमा राख्नु हुँदैन। पानीले नभिजेको सुख्खा चम्चा प्रयोग गर्नुपर्छ। बिर्को राम्ररी लगाउनुपर्छ।

स्वादिलोले चाँडै हटसस पनि ल्याउने तयारी गरिरहेको छ। इटालियन परिकारमा हटसस प्रयोग हुन्छ। अहिले बजारमा आयातित ब्रान्ड मात्रै छन्। ती ब्रान्ड प्रतिस्थापन गर्ने लक्ष्यसहित नयाँ उत्पादन ल्याउने योजना उनीहरूको हो।

इन्टर्न गर्दा फुरेको आइडियालाई वास्तविकतामा परिणत गरेका आदित्य र सक्रिय बजारको सकारात्मक प्रतिक्रियाले उत्साहित छन्। 

सक्रियले भन्छन्, 'छोटो समयमै ग्राहकले हाम्रो उत्पादन रूचाउनुभयो। काम राम्रो लागेको छ। निरन्तरता दिन हौसला पनि मिलेको छ।' 

आदित्य र सक्रियबाहेक स्वादिलोको काम चार जना कर्मचारीले सम्हाल्छन्।

स्वादिलोका उत्पादन काठमाडौंका ग्राहकले अनलाइन बजार दराज र ग्यापू स्टोरबाट मगाउन सक्छन्। त्यस्तै अल्फा डिपार्टमेन्ट स्टोर, निना एन्ड हेगर, टी मार्ट, लुम्बिनी मार्ट (शंखमूल), फार्म सप जस्ता ठाउँमा पनि किन्न पाइन्छ। स्वादिलोले मागअनुसार आफैं पनि डेलिभरी गर्छ। काठमाडौं बाहिर धरान, हेटौंडा, चितवन, बुटवल, दाङ, पोखरा, धादिङ र गोरखामा पनि पाइन्छ। 

बजार प्रवर्द्धनमा आदित्य र सक्रियलाई साथीहरूले पनि खुब मद्दत गरेका छन्। लोगो उनीहरूकै सहपाठी श्रीजन राजभण्डारीले तयार पारेका हुन्। उनी ग्राफिक डिजाइनर हुन्। 

त्यस्तै सुरूदेखि नै स्वादिलोका उत्पादन किनेर पनि साथीहरूले गरेका थिए। उनीहरूलाई पारिवारिक समर्थन पनि राम्रो छ। आदित्यको परिवार नै व्यावसायिक पृष्ठभूमिको हो। सक्रियले भने परिवारमा व्यवसायबारे बुझाइरहेका छन्।

'अझै पनि बेलाबेला त विदेश गइदिए हुन्थ्यो जस्तो गर्नुहुन्छ। मैले नेपालमा आफैं केही गर्छु भनेर कदम चालेको छु। यो कुरा घरमा भनेको छु,' उनी भन्छन्, 'पारिवारिक समर्थन नपाउने कुरै हुँदैन। आफ्नो कुरा कसरी बुझाउने भन्नेमा भर पर्छ। मैले विश्वास दिलाउन सकेको छु।'

व्यवसायमा प्रतिस्पर्धा नहुने कुरा भएन। यस्तोमा व्यवसाय अघि बढाउने उपाय गुणस्तर नै हो। गुणस्तर राम्रो भए बजारमा दीर्घकालीन हुन सक्नेमा उनीहरू विश्वस्त छन्।

स्टार्ट-अपहरूलाई बजारमा स्थापित गर्न सम्बन्धित क्षेत्रबाट सहयोग भने आवश्यक रहेको उनीहरूको धारणा छ। कम्पनी दर्ता, स्टार्ट-अप प्रवर्द्धन लगायतमा सरकारको चासो नदेखिएको उनीहरूको गुनासो छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर