नेभिगेसन मेनु

शीर्ष तीनको दौडमा नेपाल
सम्पादक:南亚网络电视
समय:2023-03-07 13:04

4a26d469_9d1b_44a7_808a_251b2c931f4a1678153309_1024

काठमाडौँ — भीम सार्कीको संयमित ब्याटिङमा नेपालले क्रिकेट विश्वकप लिग–२ मा सोमबार यूएईलाई ४२ रनले पराजित गरेको छ । शीर्ष पंक्तिको ब्याटिङले लगातार निराश बनाइरहँदा भीमको साहसिक इनिङ्सपछि नेपालले लिग २ मा पहिलो पटक यूएईलाई हराएको हो । 

१८ ओभरभित्र ६८ रन बनाउँदा ५ विकेट गुमाइसकेको नेपालले भीमको ७० रनमा निर्धारित ५० ओभर खेलेर ८ विकेट गुमाई २ सय २९ रन बनायो । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिएपछि जवाफमा आएको यूएई घरेलु भूमि दुबई अन्तर्राष्ट्रिय रंगशालामा ४५ ओभरमा १ सय ८७ रनमा अलआउट भयो । आसिफ शेख ६, ज्ञानेन्द्र मल्ल ११, कप्तान रोहित पौडेल १, कुशल मल्ल ३२, दीपेन्द्र ४ रनमा आउट भएपछि टस जितेर ब्याटिङमा आएको नेपालको संकट सुरु भइसकेको थियो । कुशलले मात्र सदाझै खुलेर खेलेका थिए । उनले ३२ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । त्यसपछि भीमले सन्दीप लामिछानेसँग छैटौं र आरिफसँग सातौं विकेटका लागि समान ५६ रनको साझेदारी गरेका थिए ।

सातौं नम्बरमा पठाइएका सन्दीपले ४० बल खेल्दै १ चौकासहित २७ रन बनाए । भीम ४५ औं ओभरमा सातौं खेलाडीको रूपमा आउट भए । रोहन मुस्ताफाको बलमा बोल्ड हुनुपूर्व उनले ९९ बल खेल्दै ७ चौका प्रहार गरेका थिए । आरिफले अविजित ४३ रन बनाए । इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरेका उनले ५६ बल खेलेर २ चौका प्रहार गरे । करण केसी ११ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १७ रनमा आउट भए ।

आफूले सामना गरेको पहिलो बलमा चौका प्रहार गरेका प्रतिश जीसी ६ बलमा ११ रन बनाई अविजित रहे । नेपालले अन्तिम १० ओभरमा ६९ रन जोडेको थियो । यूएईका जुनैद सिद्दिकीले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५३ रन खर्चे । मुस्ताफाले ९ ओभरमा १ मेडन राख्दै ४३ र आर्यन लर्काले ८ ओभरमा ३० रन खर्चेर २–२ विकेट लिए ।

यूएईले टस अगाडि नै आफ्नो टोलीमा आश्चर्यजनक परिवर्तन गरेको थियो । अघिल्लो दिन पपुवा न्युगिनीसँग ९७ रनमा अलआउट हुँदै ५ विकेटको हार भोगेपछि टोलीले नेपालसँग खेल्दा सीपी रिजवानको स्थानमा मोहम्मद वासिमलाई कप्तान बनाएको थियो । तिनै वासिमलाई सोमपालले इनिङ्सको दोस्रो बलमै इनसाइड एज लागेर बोल्ड गरे ।

आसिफ खान र लर्काले दोस्रो विकेटमा ९४ रनको साझेदारी गरे पनि यूएईले ६५ रनमा अन्तिम ८ विकेट गुमाएको हो । लर्काले ७८ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेर ५० रन बनाए । उनीसँगै वृत्या अरविन्द (११), रिजवान (७), मुस्ताफा (६), आयान खान (२) लाई आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो । यूएईको सबै आशा आसिफमा थियो । उनले आलिसन सराफुसँग मिलेर इनिङ्स तान्ने प्रयास गरेका थिए । तर दीपेन्द्रले लगातार बलमा आसिफ र कार्थिक मेइयापनलाई आफ्नै बलिङमा क्याच गराएर नेपालको विजय नजिक पुर्‍याए । ओपनर आसिफले १ सय १५ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । करणले सराफुलाई ६ र सन्दीपले जाहुर खानलाई ७ रनमा बोल्ड गर्दै नेपालको जित निश्चित गरे । सोमपालले ७ ओभरमा १ मेडन राख्दै २६ रन खर्चे । दीपेन्द्रले ८ ओभरमा १८ रनमात्र खर्चे । करण, सन्दीप र आरिफको नाममा १–१ विकेट रह्यो ।

विदेशी भूमिमा उत्कृष्ट नतिजा

लिग २ मा नतिजाको हिसाबमा यूएई भ्रमण नेपालको अहिलेसम्मकै उत्कृष्ट बनेको छ । नेपालले यस शृंखलामा ४ मध्ये तीन खेल जितेको छ । विदेशी भूमिमा खेलिएका लिग २ को एकै शृंखलामा नेपालले पहिलो पटक ३ खेल जित्न सकेको हो । पपुवा न्युगिनीले आफ्नो घरेलु भूमिका रूपमा दुबईमा खेलेको यो शृंखलामा नेपालले पीएनजीलाई दुई पटक र यूएईलाई एक पटक पराजित गर्‍यो । पीएनजीविरुद्ध नेपालले दुई खेलमा क्रमशः ४ र ३ विकेटको जित हात पारेको थियो । यूएईविरुद्ध नेपालले लिग–२ मा पहिलो जित निकालेको हो । यसअघिका तीन खेलमा नेपालले ‘लो स्कोरिङ’ खेलमा विजय लक्ष्य पछ्याउन नसक्दा पराजय भोग्नुपरेको थियो ।

सन् २०२१ मा ओमान भ्रमण र २०२२ मा यही समयमा नेपालले यूएई भ्रमणमा २–२ खेल जितेको थियो । सोमबार पाएको जितपछि नेपाल यूएईलाई उछिन्दै लिग २ को अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ । नेपालको ३२ खेलमा ३२ र यूएईको ३१ अंक छ । गत वर्षको जुलाईपछि लिग २ का ८ मध्येको ६ खेल हार्दै एकमा मात्र विजय हात पारेको नेपालले पछिल्लो तीन सातामा ८ मध्ये ७ खेल जितेपछि शीर्ष तीनको दौडमा उभिएको छ ।

नेपालले हालैमात्र स्कटल्यान्ड र नामिबियासम्मिलित घरेलु शृंखला ४–० ले जितेर ‘क्लिन स्विप’ गरेको थियो ।

लिग २ का शीर्ष तीन टोली एकदिवसीय विश्वकपको छनोटमा पुग्नेछन् भने शीर्ष ५ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ । बाँकी रहेको सबै चार खेल जितेमा नेपाल शीर्ष तीन राष्ट्र बन्दै विश्वकप छनोटमा पुग्नेछ भने ४ मध्ये २ खेल जितेमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ । नेपालसँगको हारपछि यूएई शीर्ष ३ को होडमा कमजोर बनेको छ ।

नेपालले बिहीबार सुरु हुने घरेलु शृंखलामा यूएई र पपुवा न्युगिनीविरुद्ध २–२ खेल खेल खेल्नेछ । लिग २ कै अन्तिम यस शृंखलाले दोस्रोदेखि पाँचौं स्थानमा रहने टोली तय गर्नेछ । स्कटल्यान्ड ५० र ओमान ४४ अंकसहित पहिलो दुई स्थानमा सुरक्षित छन् । पपुवा न्युगिनी ३२ खेलमा ९ अंकसहित पुछारमा छ । हाल नामिबिया ३९ अंकसहित तेस्रो र अमेरिका ३५ अंकसहित पाँचौं स्थानमा छन् । नेपालले आउँदो घरेलु शृंखलामा बिहीबार पपुवा न्युगिनीविरुद्ध पहिलो खेल खेल्दै छ । त्यस्तै आइतबार यूएई, सोमबार पपुवा न्युगिनी र अर्को बिहीबार पुनः यूएईसँग खेल्नेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर