साउदी अरबमा मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको छ । मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ ।
प्रतिकात्मक तस्बिर : सटरस्टक
‘दाहाललाई माफी दिइन्छ भनेर हामी ढुक्क थियौं । तर एक्कासी मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको खबर आयो । जेल प्रशासनले ४८ घण्टापछि मात्रै सूचना दियो,’ सुवेदीले भने, ‘यो हाम्रो लागि निकै दुर्भाग्यपूर्ण हो ।’विवेक दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए । अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर गरेको थियो ।
पीडित राजेन्द्र विष्टको परिवारलाई दाहालको परिवारले ब्लडमनि वापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुवेलको अदालतामा आममाफी दिन निवेदन दिएको थियो । तर, उपचारपछि स्वदेश फिरेका सुडानी नागरिक माफी नदिई सर्म्पकविहिन भए । ‘विष्ट परिवारबाट माफी भएपनि सुडानी नागरीकबाट भएन । त्योसँगै उनीमाथि पशु करणीको पनि मुद्दा थियो । यो मुद्दाले गर्दा अदालतबाट माफी भएन,’ नेपाली दूतावासका एक अधिकारीले भने, ‘नेपालको तर्फबाट उच्च तहमा पटकपटक पहल गरेपनि सुनुवाई हुन सकेन ।’
दाहाललाई माफी दिएर स्वदेश पठाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले साउदी राजालाई पत्र पठाएकी थिइन् । त्यसबाहेक साउदीका सबै तहमा पनि दूतावासले पहल गर्दै आइरहेको थियो । गत मार्चमा नेपाल भ्रमणमा आएका साउदीको परराष्ट्र मन्त्रीसमक्ष पनि दाहाललाई माफी दिन सरकारले औपचारिक आग्रह गरेको थियो ।