नेभिगेसन मेनु

मध्यपहाडी लोकमार्गमा पहिरो, सडक अवरुद्ध भएपछि आवत-जावतमा रोक
समय:2021-06-15 03:56

लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत-बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ। 

पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो। निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ। वर्षा रोकिएलगत्तै खुलाउन प्रयास भइरहेको बताइएको छ। 

त्यसैगरी छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी-मालढुङ्गा सडकसमेत अवरुद्ध भएको छ। जलजला गाउँपालिका-८ नाङ्लीवाङको फर्से, वडा नं ७ को केराबारी र वडा नं ३ को लामाखेतमा पहिरो जाँदा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले जानकारी दिए। 

उनका अनुसार गए रातिदेखि नै सडक अवरुद्ध भए पनि वर्षा निरन्तर जारी रहेको र पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल खुलाउन सकिएको छैन।

वर्षा रोकिनेबित्तिकै सबै सडकमा डोजर लगाएर खुलाइने भएको छ। अहिले डोजर र सुरक्षा निकाय तयारी अवस्थामा रहेको उनले बताए। 

सडक बन्द हुँदा बाग्लुङ, म्याग्दी र मुस्ताङबाट छुटेका मालवाहक सवारी, एम्बुलेन्सलगायत खाद्यान्न र बिरामी बोकेका सवारी साधन अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधनसमेत पर्वतको सहस्रधारामा अलपत्र बनेका छन्।

त्यसैगरी दक्षिण पर्वतको हुवास-वालिङ सडक र सदरमुकाम जोड्ने दक्षिण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस क्षेत्रमा शनिबारदेखि जारी वर्षा रोकिएको छैन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर