असोज १७, १८ र १९ गते लगातार परेको भारी वर्षा र जलवायुजन्य घटनाका कारण देशभरका धेरै सडकखण्डहरू भूस्खलन, बाढी र कटानले प्रभावित भएका छन् । सडक अवरुद्ध भई यातायात ठप्प भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्काल मर्मत कार्य तीव्र पार्दै प्रमुख राजमार्गहरू पुनः सञ्चालनमा ल्याउने कार्य अगाडि बढाएको जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै अवरुद्ध सडकहरू चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने बताए ।
मन्त्रालय र सडक विभागले अवरुद्ध सडकहरू सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरेको जनाएको छ । विभागका अनुसार, प्रमुख राजमार्गका अवरुद्ध खण्डहरूमा दिनरात मर्मत कार्य जारी छ ।
काठमाडौंबाट पश्चिमतर्फ जाने पृथ्वी राजमार्ग, मुग्लिन–पोखरा र नारायणघाट मार्गका अवरोध हटाई सवारी सञ्चालन हुनसक्ने बनाइसकिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, भकुन्डेबेँसी–नेपालथोक खण्डमा अवरुद्ध बीपी राजमार्ग र मेची राजमार्गमा डाइभर्सन निर्माण तथा मलबा हटाउने कार्य तीव्र गतिमा भइरहेको छ ।
मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र स्थानीय निकायहरूसँग सहकार्य गरी सडक विभागमार्फत मर्मत कार्यमा गति दिएको जनाएको छ ।
सडक विभागका अनुसार, प्रभावित सडकहरू क्रमशः सञ्चालनमा आउने क्रममा रहेका छन् । मन्त्रालयले आवश्यक जानकारीका लागि सडक विभागको आधिकारिक वेबसाइट वा तोकिएका सम्पर्क नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।