एस् ए टी भी ०४ माघ, काठमाडौंः सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ माघ ११ गते ‘ब्रेक थ्रु’ गरिने भएको छ। उक्त सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले पूजाआजा गरी ‘ब्रेक थ्रु’ गर्ने आयोजनाका कृष्णराज अधिकारीले बताए।
‘अब दुई मिटर खन्न बाँकी छ । ब्रेक थ्रु गर्नका लागि राखिएको छ । यसअघि माघको पहिलो सातालाई ब्रेक थ्रु गर्ने कार्यक्रम राखिएको थियो,’ अधिकारीले भने, ‘तर प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण माघ ११ मा ब्रेक थ्रु गर्न लागिएको छ ।’
अधिकारीकाअनुसार सोही दिन प्रधानमन्त्री ओलीले बुटवलको गोरुसिङ्गे–चन्द्रौटा सडकखण्डको शिलान्यास गर्ने कार्यक्रमसमेत छ । सो सडक ६ लेनमा विस्तार हुन लागेको छ ।
सिद्धबाबा सुरुङमार्ग पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गको तिनाउ ३ दोभान क्षेत्रमा निर्माण गरिएको छ । यो आयोजनाअन्तर्गत २ लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको निर्माण गरिएको छ । यसको मुख्य सुरुङमार्गको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर छ । लाइनिङसहित यो सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर छ ।
आयोजनाले उत्तर र दक्षिणतर्फबाट खन्दै सुरुङको बिचमा २ मिटरजतिको दुरी बाँकी राखेको छ । उत्तरतर्फबाट ४८० मिटर र दक्षिणतर्फबाट ६०७ मिटर गरी १०८७ मिटर सुरुङ खनिसकेको छ । सुरुङको उत्तर र दक्षिण भाग जोड्न २ मिटरमात्रै बाँकी छ । यही बाँकी २ मिटर माघ ११ गते खनेर प्रधानमन्त्री ओलीले ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय भएको अधिकारीको भनाइ छ ।
यो सुरुङमार्गमा सवारी साधन गुडिरहेको बेला आपातकालीन अवस्थामा यात्रुलाई उद्धार गर्न १५१ मिटरको पहिलो बाइवास, १६१ मिटरको दोस्रो बाइपास र १३० मिटर दुरीको तेस्रो बाइपास पनि निर्माण गरिएको छ ।
यसको पहिलो बाइपास सुरुङमार्ग २०८१ असोज ४ गते छिचोलिएको थियो । दोस्रो २०८१ पुस ७ गते र तेश्रो बाइपास २०८१ भदौ २६ गते छिचोलिएको थियो ।
मुख्य सुरुङमार्गमा समस्यामा परेमा यात्रुको उद्धार गरी तत्कालै उपचारका लागि लैजान सुरुङमार्गको उत्तर र दक्षिणपट्टी हेलिप्याडसमेत निर्माण गर्ने तयारी छ ।
कति निर्माण बाँकी ?
आयोजना प्रमुख अधिकारीका अनुसार हालसम्म सुरुङमार्ग खन्ने काम लगभग सकिएको छ । भौतिक प्रगति ३८.८५ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत सम्पन्न भएको छ । लाइनिङ, भेन्टिलेसनको काम भने अझै बाँकी छ ।
सुरुङमार्ग छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्ने भएकाले सवारी गुडाउन एक वर्ष अझै लाग्ने आयोजनाले जनाएको छ ।
भित्तामा कङ्क्रेटिङ गर्ने, वाटर प्रुफिङ, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ्ग, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी छ ।
म्यादभित्र निर्माण सकिएला ?
यो आयोजना २०७८ फागुनमा २५ गते ५ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर(भ्याट) सहित लागतमा बनाउने ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का शर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात् २०८३ चैत ८ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यो सुरुङमार्ग २०८० पुसदेखि खन्ने काम सुरु गरिएको थियो । सम्झौताअनुसार यो सुरुङमार्ग अब १४ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने छ । तोकिएको म्याद अघि नै निर्माण सम्पन्न हुने देखिएको आयोजना प्रमुख अधिकारी बताउँछन् ।
‘अहिलेको गतिअनुसार काम भयो भने म्याद अघिनै निर्माण सम्पन्न हुन्छ,’ अधिकारीले भने, ‘नभए पनि तोकिएको म्यादभित्र निर्माणका सारा काम सकिने गरी कार्य भइरहेको छ । यो आयोजनामा म्याद थप गर्नुपर्ने अवस्था आउँदैन ।’
ठेक्का सम्झौताअनुसार यो सुरुङमार्ग निर्माण सकिएपछिको ५ वर्षसम्म निर्माण कम्पनीलाई नै सञ्चालन तथा मर्मत सम्भार गर्ने गरी अधिकार दिइएको छ । यो सुरुङमार्गको वारेन्टी ५ वर्षको छ ।
निर्माणकै क्रममा रहेकाले यो सुरुङमार्ग प्रयोग गर्ने सवारी धनीले के–कति सवारी शुल्क तिर्नुपर्ने वा नपर्ने विषय तय भएको छैन । सुरुङमार्गमा ६० किलोमिटर प्रतिघण्टाको दरले सवारी साधन गुडाउन पाइने व्यवस्था कायम गरिएको छ ।
सुरुङमार्ग सम्पन्न भएर सञ्चालनमा आएपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रमा सुरक्षित रूपमा यात्रा गर्न सहज हुने भएको छ ।